२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एनआरएनए एनसीसी कतारले मनायो २२औं स्थापना दिवस

Nada
तिलु शर्मा पौडेल
२०८१ मंसिर २८ गते १२:१६
Shares
एनआरएनए एनसीसी कतारले मनायो २२औं स्थापना दिवस

दोहा, कतार : डिसेम्बर ३, २००३ का दिन कतारमा स्थापना भएको गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले आफ्नो स्थापनाको २२औं स्थापना दिवस मनाएको छ । कतारको अलत्तियास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा बिहीबार "शुभकामना आदान प्रदान कार्यक्रम" को आयोजना गर्दै स्थापना दिवस मनाएको हो । 

ncell

कतारका लागि नवनियुक्त नेपाली राजदूत रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा दिवस सम्पन्न भएको हो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले आफू कतार आएको २२ दिनमै २२औं स्थापना दिवसमा सरिक हुन पाएकोमा खुसी व्यक्त गर्दै कतारमा रहेका संघसंस्था सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कतार श्रमिकहरूको श्रम गर्ने थलो भएको हुँदा श्रमिकको हकहितको रक्षा गर्नु पहिलो दायित्व रहेको बताउँदै उनले नेपालको आर्थिक श्रमृद्धिको लागि वैदेशिक लगानी भित्र्याउन र दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने जिम्मेवारी कतारमा रहेका सबै नेपालीको रहेको बताए । 

दिवसका अवसरमा कतारमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो । दिवसका अवसरमा फरक-फरक व्यक्तित्वहरूले एनआरएनएभित्रको गुटउपगुटसहितको फुटका बारेमा समेत आफ्ना धारणा राखे । वक्ताहरूले एनसीसी कतारले नेपाली समाजमा गरेका कामको प्रशंसा गर्दै कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्न सुझाव दिएका थिए । कार्यक्रममा एनसीसी कतारका संस्थापक सदस्य चानक पोखरेल, पूर्वअध्यक्षहरू कमलमणि गुरागाईं, नवीन पोखरेल, आइसीसी सदस्य तेज कटुवालसहित गैरआवासीय नेपाली संघका संस्थापक सदस्य एवम् पूर्वउपाध्यक्ष सागर नेपाल,  वर्तमान कार्यसमितिका उपाध्यक्ष राज रेग्मी, कतारका लागि नेपाली पर्यटनदूत राजेन्द्र कुमार शर्मालगायतले सम्बोधन गरेका थिए । 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भट्टले एनआरएनएलाई श्रमिकमुखी बनाउने या व्यवसायीमुखी बनाउने त्यो सबै परिषद्को हातमा रहने हुँदा झोलामा पैसा बोकेर परिषद् सदस्य बनाउने प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बताए । उनले कार्यक्रममा सबैलाई इमेल, फेसबुकमार्फत निमन्त्रणा गर्ने गरिएको बताउँदै एनसीसी कतारको स्थापना गर्ने संस्थापक समितिदेखि निवर्तमान कार्यसमितिप्रति आभार व्यक्त गरे । दीप प्रज्वलनसहित केक काटेर समुद्घाटन गरिएको कार्यक्रमलाई प्रथम उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले मन्तव्यमार्फत संस्थागत स्वागत गरेका थिए भने सचिव सन्तोष क्षेत्रीले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर