२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

उमागौरी सहकारी ठगी प्रकरण : अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा

Nada
२०८१ मंसिर २९ गते ०६:३५
Shares
उमागौरी सहकारी ठगी प्रकरण : अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा

काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध सहकारी ठगीमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।

ncell

सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी श्रीमती कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

ठगी प्रकरणमा २६ प्रतिवादीमध्ये रोशन राजवंशीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । न्यायाधीश अरुणकुमार झाको इजलासले राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

उनीहरूविरुद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्र मुद्दा दायर भएको हो । सरकारी वकिल कार्यालयका अनुसार सहकारीको २२ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सहकारी अपचलनमा जोडिएका २६ प्रतिवादीमध्ये २५ जना फरार छन् । राजवंशी भने पहिले नै पक्राउ परेकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । अन्यको हकमा अब पक्राउ पुर्जी जारी हुने सूचना अधिकारी बुढाथोकीले बताए ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

‘रोशन राजवंशी पहिला नै पक्राउ परेका थिए । उनलाई थुनछेक बहसको क्रममा थुनामा पठाउने आदेश भएको हो । अन्य प्रतिवादीहरू अहिलेसम्म फरार छन् । उनीहरूको हकमा अब पक्राउ पुर्जी जारी हुन्छ’, बुढाथोकीले भने ।

प्रतिवादीहरू उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अनसारी मिया, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सदस्यहरू आमोदकुमार मण्डल, जितमान ठाकुर, लेखा समिति संयोजक विजयकुमार यादव, लेखा समितिका सदस्यहरू सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास फरार छन् ।

त्यस्तै, संचालक समितिकी पूर्वउपाध्यक्ष दिलमाया राई, प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती एवं पूर्वसंचालक समिति सदस्य अञ्जला कोइराला, पूर्वउपाध्यक्ष उपासी राजवंशी, लेखापाल सोनु यादव, पूर्वकर्मचारीहरू मोहमद नजाम उद्दिन, चम्पा गिरी, पूर्वउपाध्यक्षहरू शम्भुप्रसाद सिंह, सन्तलाल खवास, सुमन लोहनी, पूर्वसहसचिव लक्ष्मीदेवी कार्की राजवंशी, पूर्वसदस्य ज्योति बाँस्कोटा, पूर्वसंचालक समिति सदस्यहरू मित्रप्रसाद शिवाकोटी, शरद् सिंह, मो. नसरुद्दिन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशीलाई फरार प्रतिवादी बनाई जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अभियोग दायर गरेको थियो ।

योगिता शर्मा बाँस्तोलाको जाहेरीमा दायर भएको उक्त मुद्दा सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार प्रतिवादीअन्तर्गतको कसुर अगाडि बढाइएको छ ।

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसंचालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । सहकारीको संचालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए । शिक्षण पेसामा आवद्ध कोइराला सहकारीको सदस्य हुँदा सहकारीले लघुवित्तबाट ऋण लिने निर्णय गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर