२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि......

Nada
२०८१ मंसिर २९ गते ०८:४४
Shares
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि......

काठमाडौंः भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ ।

ncell

आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो । मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ । अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए ।

अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी रु एक लाख रकम रहेको आयोगले जनाएको छ ।

अनुसन्धान अधिकृतले यो केको पैसा हो ? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो ।
 

ताजा खबर

सम्बन्धित खबर