२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

'जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिंगो पार्टी परिचालित हुनुपर्छ'

Nada
२०८१ मंसिर ३० गते १४:०९
Shares
'जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिंगो पार्टी परिचालित हुनुपर्छ'

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रियताका साथ एकढिक्का भई अघि बढ्न समग्र पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

ncell

एमाले पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताका पक्षमा स्थापना भएको पार्टीका नेता तथा कार्यकताका हैसियतले जनताको जीवनस्तर सुधार गर्ने राष्ट्रिय अभियानमा सक्रियताका साथ एकताबद्ध भइ लाग्न अनुरोध गरे ।   

चिनियाँ कम्युनिष्ट पार्टीको संघर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन पार्टी पंक्ति एक हुनुपर्ने धारणा व्यक्त गरे । पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उनले कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आम जनमसुदायमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिकरुपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले चीनमा कुनै पनि नेताले पार्टी नेतृत्वको  विरोध नगर्ने परिपाटी रहेको स्मरण गराए ।

चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको बताए ।

“हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन । समाजवाद र राष्ट्रवादको उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम रुप दिन सुरुवात्देखि नै लाग्दै आएको छ”, अध्यक्ष ओलीले भने, “जनताले सजिलोसँग खान, लाउन, बस्न पाउने तथा छोराछोरी पढाउन पाउने, बिरामी हुँदा उपचार गर्न पनउने आधारभूत आवश्यकताको परिपूर्ति तथा राजनीतिक अधिकार पाउनुपर्ने भन्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना भएको हो । राजनीतिक अधिकार प्राप्त भएको छ, अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धितर्फ लाग्नुपर्नेछ ।”

इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको बताउँदै उनले पार्टीभित्र बिमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखापर्दै आएकाले अब त्यसबाट मुक्त हुनुपर्ने धाराणा व्यक्त गरे ।

प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीति लिए पनि संस्थापक नेता पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाएर देश र जनताको हितमा काम गर्न सबैसँग अनुरोध गरे ।

शनिबार सुरु भएको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसंगठनका केन्द्रीय अध्यक्ष तथा महासचिव र महानगर/उपमहानगर पालिकामा एमालेबाट निर्वाचित प्रमुख/उपप्रमुहरूको सहभागिता रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर