२०८१ पुष ६ गते शनिवार / Dec 21 , 2024 , Saturday
२०८१ पुष ६ गते शनिवार

घटेन अपराध

ADV
अस्मिता बम
२०८१ पुष ६ गते ०६:४०
घटेन अपराध

–२८ मंसिरमा काठमाडौंको पशुपति मन्दिर पछाडिको जंगलमा शंकरापुर नगरपालिका– ५ घर भई हाल शान्तिनगर बस्दै आएकी २० वर्षीया मनीषा मिजार मृत भेटिइन् । बानेश्वरमा रहेको पेन्टागन कलेजमा कक्षा १२ मा पढ्दै गरेकी उनले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । उनका शव नजिक विषादीको खालि बट्टा र ‘सुसाइड नोट’ फेला परेको थियो । 

–१६ भदौमा ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भइन् । धरानको भानुचोकस्थित भोजपुरे होटलमा उनी बलात्कृत भएकी प्रहरीको भनाइ छ ।

–४ पुसमा भक्तपुरमा घरायसी विवाद हुँदा बुबाले चक्कु प्रहार गरी छोराको हत्या गरे । भक्तपुर नगरपालिका– २ शहीद स्मृति खेल मैदान नजिक अछाम कमलनगर नगरपालिका– ६ हात्तीबाचका नरेन्द्रबहादुर शाहीलाई बुबा दीपबहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गरी हत्या गरे ।
समाजमा दैनिक रूपमा भइरहने यी घटनाहरूले अपराधको ग्राफ बढ्दै गइरहेको देखाउँछन् ।

नेपाल प्रहरीको तथ्यांकले पनि आपराधिक क्रियाकलाप बढेको देखाएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको तथ्यांकअनुसार अपराधका घटना बढ्दो क्रममा रहेको छ । 

‘पछिल्लो समय समाज अपराधमय भएको छ । कर्तव्य ज्यान होस् कि संगठित अपराध वा जबर्जस्ती करणीका घटना, अपराधको तथ्यांक बढ्दो क्रममा छ’, प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले भने ।

प्रहरीकै तथ्यांकअनुसार गत वर्षको तुलनामा पछिल्लो ४ महिनामा अपराध दर झन्डै ३ प्रतिशतले बढेको छ । गत वर्ष र चालू आर्थिक वर्षको ४ महिनामा प्रहरी कार्यालयमा दर्ता भएका मुद्दा संख्याको विश्लेषणका आधारमा यस्तो तथ्यांक देखिएको हो । पछिल्लो ४ महिनायता गृह मन्त्रालयको जिम्मेवारी रमेश लेखकले सम्हालेका छन् । 

प्रहरीको तथ्यांकअनुसार २०८१ साउनदेखि कात्तिकसम्म देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको ४ महिनामा दर्ता भएका मुद्दा संख्याभन्दा ५०० ले धेरै हो । गत वर्ष सो अवधिमा भने १८ हजार ९९८ मुद्दा दर्ता भएका थिए । यस अवधिमा कर्तव्य ज्यानका १९२, जबर्जस्ती करणीका ८२३, संगठित अपराधका ३९ र लागुऔषधका १ हजार ६१९ मुद्दा दर्ता भएका छन् ।

प्रहरीमा दैनिक रूपमा औसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको एसएसपी अधिकारीले बताए । प्रहरीको तथ्यांकअनुसार देशभर प्रत्येक दिन १६२ दशमलव ४ मुद्दा प्रहरी कार्यालयमा दर्ता हुने गर्छन् । यीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका घटना धेरै छन् । तथ्यांकअनुसार चालू आ. व.को ४ महिनामा मुलुकभर बैंकिङ कसुरका ४ हजार ३५९ मुद्दा दर्ता भएका छन् ।

यो दर्ता भएको कुल अपराध संख्याको २२ दशमलव ३५ प्रतिशत हो । त्यस्तै, यस अवधिमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासँग सम्बन्धित मुद्दा ३ हजार १४४ वटा दर्ता भए । यो कुल संख्याको १६ दशमलव १२ प्रतिशत हो । 

यी अवधिमा जबर्जस्ती करणीका दैनिक ७ वटा छन् भने आत्महत्याका २० वटा मुद्दा छन् । 

यस्तै, कर्तव्य ज्यानमा गत वर्षको सोही अवधिमा १९३ मुद्दा दर्ता भएका थिए भने जबर्जस्ती करणीका ८०९, संगठित अपराधका ५ र लागुऔषधका १ हजार ३६९ मुद्दा दर्ता भएका थिए । 

‘अपराधपछि प्रहरीमा उजुरी गर्ने चेतना बढेको र उजुरी लिन प्रहरीले पनि सक्रियता बढाएका कारण अपराधसँग सम्बन्धित मुद्दा दर्ता संख्या बढेको हो’, एसएसपी अधिकारीले भने ।

अपराध सहेर बस्नुको सट्टा कानुनी उपचार खोज्ने प्रवृत्ति बढेको उनले बताए । ‘यसमा प्रहरीले पनि सहजीकरण गरेको छ । मुद्दा दर्ता संख्या बढ्नुको कारण यो हो भन्ने लाग्छ’, उनले भने ।

भयावह आत्महत्या

प्रहरी तथ्यांकअनुसार १ वर्षमा देशभर ८ देखि १० हजार व्यक्तिले आत्महत्या गरेर ज्यान गुमाइरहेका छन् । पछिल्लो ४ महिनामा देशभर २ हजार २३६ जनाले आत्महत्या गरे । 

प्रदेशगत तथ्यांकअनुसार सबैभन्दा बढी कोशी प्रदेशमा आत्मह(त्याका घटना भएको छ । कोशी प्रदेशमा ४८३ जना र लुम्बिनी प्रदेशमा ४३३ जनाले आत्महत्या गरेको तथ्यांक छ । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी १ हजार ९०१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष रहेका पाइएको छ । औसतमा ६० प्रतिशत पुरुषले आत्महत्या गर्ने गरेको पाइएको छ । उमेरका आधारमा सबैभन्दा बढी १८ देखि २५ वर्ष उमेर समूहका व्यक्तिले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांकले देखाएको छ । 

प्रवक्ता अधिकारीका अनुसार आपराधिक घटना हुनुको प्रमुख कारण मानसिक समस्या हो । साथै, गरिबीका कारण पनि यस्ता घटना हुने गरेका छन् । सामाजिक र आर्थिक अपराध कम गर्नका लागि प्रहरीले देशभर सचेतना अभियान संचालन चलाइरहेको प्रवक्ता अधिकारीले बताए ।

नेपालमा अपराध गरेर विदेश गएका वा फरार भएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन यो ४ महिनामा इन्टरपोलबाट १२ वटा रेड कर्नर नोटिस जारी भएको छ । यसमध्ये ९ जना व्यक्ति विभिन्न देशमा पक्राउ गरेर नेपाल ल्याइएको छ । 

सवारी दुर्घटनामा दैनिक ७ को मृत्यु

नेपाल प्रहरीका अनुसार देशभर हुने दुर्घटनाका घटना हेर्दा औसतमा प्रत्येक दिन ७ जना व्यक्तिले सवारी दुर्घटनाका कारण ज्यान गुमाउँछन् । यो आ. व. सुरु भएपछि देशभर ७ हजार ४८ वटा सवारी दुर्घटना भए, जसमा ७७८ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा २ हजार ६४ जना गम्भीर घाइते भएका छन् भने १० हजारभन्दा बढी सामान्य घाइते भएका छन् । देशभर हुने दुर्घटनाका घटनामा ६४ प्रतिशत बढी २ पांग्रे सवारी साधन दुर्घटनामा पर्ने गर्छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise