२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

राहदानी बनाउन माल्टाबाट ६५० को आवेदन, १ करोड बढी राजस्व संकलन

Nada
भरत प्रधान
२०८१ पुष ६ गते १२:१५
Shares
राहदानी बनाउन माल्टाबाट ६५० को आवेदन, १ करोड बढी राजस्व संकलन

लिस्बन : विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६ सय बढी नेपालीको राहदानी आवेदन संकलन गरिएको छ ।

ncell

राहदानी विभाग काठमाडौं र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल ६५० जनाको जैविक विवरणसहितको आवेदन संकलन गरिएको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले जानकारी दिए । पाँच दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताए ।

शिविरबाट करिब ७८ हजार युरो अर्थात् एक करोड १० लाख रुपैयाँ राजस्व संकलन भएको पौड्यालले बताए । ‘राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन विशेष प्राथमिकता दिएर माल्टामा घुम्ती शिविर सञ्चालन गरेका हौं’, पौड्यालले भने, ‘शिविर अवधिभर हामीले सक्दो सेवा दिने प्रयास गर्‍यौं, माल्टाबाटै सेवा पाउँदा सहज भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गर्नुभयो ।’

शिविरबाट राहदानी नवीकरण, राहदानी वितरण र कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवामा दूतावासका सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा विदुर खतिवडा र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए । टोलीले डिसेम्बर १४ तारिखदेखि गैरआवासीय नेपाली संघ माल्टाको कार्यालयबाट कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ माल्टासहित त्यहाँ क्रियाशील नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

माल्टामा नेपाली दूतावास नभएका कारण राहदानी विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि दूतावासले गत महिना स्पेनको बार्सिलोनामा घुम्ती सेवा सञ्चालन गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर