–लोकनारायण सुवेदी
वास्तवमा अर्थतन्त्रका गम्भीर अध्येता र ज्ञाताहरू वित्तीय पुँजीलाई विश्वको एउटा असामाजिक परिघटना मान्छन् किनभने यसले केही पनि उत्पादन गर्दैन । पैसाले पैसा बनाउने काम मात्र यसले गर्छ । हिजो यही काम गाउँघरको सुद्खोरले गर्थ्यो र कतिपय ग्रामीण इलाकामा आज पनि गर्ने गर्छ ।
त्यसको बदलामा उसले समाजबाट एक किसिमको घृणा पाउने गथ्र्याे । तर, आधुनिक वित्तीय पुँजीको यो खेलको दायरा त्यसभन्दा धेरै अगाडि बढ्दै गएको छ र निकै भिन्न छ । त्यसले सस्तो दाममा शेयर र प्रतिभूतिहरू किन्छ र महँगो दाममा बेच्छ । अनि, त्यसले बैंकहरूलाई ऋण दिन्छ र त्यसबापत ब्याज लिन्छ । आज वित्तीय पुँजीको शक्ति यति धेरै बढिसकेको छ कि त्यसले कुनै पनि देशको शेयर बजारमा हस्तक्षेप गरेर त्यहाँको अर्थ व्यवस्थामा भयंकर र भयावह अर्थ–भूकम्प ल्याइदिन पनि सक्छ ।
हुनत यो वित्तीय पुँजीका बारेमा धेरै ज्ञाताहरूद्वारा धेरै कुरा लेखिसकिएको छ र अबका दिनहरूमा अझै अरू लेखिँदै पनि जाने छ । एउटा भरपर्दो अनुमान र खोजअनुसार आज वित्तीय पुँजीको मात्रा औद्योगिक पुँजीको मात्राभन्दा बढी भइसकेको छ । यदि यस्तो हुँदैनथ्यो भने पनि त्यसको मात्रा यति त छँदै छ कि त्यसको भूमिकामाथि विचार गर्नु आवश्यक भइसकेको छ । वित्तीय पुँजीको सिर्जना त्यहीबाट हुन्छ, जहाँबाट औद्योगिक पुँजीको उत्पत्ति हुन्छ ।
जतिबेला पुँजीवादको विकास भएको थिएन, त्यसको एक–डेढ सय वर्षयताको एकल पुँजीले त्यसको मार्ग प्रशस्त ग¥यो । जोसँग पैसा हुन्थ्यो, उसले कारखाना चलाउँथ्यो र मजदुरको रगत पसिना एक तुल्याउँथ्यो । यो त्यही समय थियो, जतिबेला पुरुष तथा महिला कामदारहरूबाट १२ देखि १६ घण्टासम्म निरन्तर काम लिइन्थ्यो ।
उनीहरू अत्यन्तै दयनीय अवस्थामा रहन्थे । हरेक दोस्रो दिन उनीहरूका लागि थप कुपोषणको दिन हुने गथ्र्याे । के भन्ने गरिन्छ भने, त्यो पुँजीवादको पाषाण युग थियो । तर, पाषाण युग कतै पनि धेरै दिन चल्न सक्दैन । यदि पुँजीवादको त्यो निर्दयी युग जारी रहन्थ्यो भने निश्चय नै माक्र्सको परिकल्पनाअनुसार सर्वहारा वर्गले विद्रोह गरिदिन्थ्यो । यसरी आफू र आफ्नो मालिकलाई पनि मुक्त तुल्याइ दिन्थ्यो ।
तर, यसो भएन किनभने पुँजीवाद त सालैपिच्छे सामथ्र्यवान् हुँदै गयो । उसको उत्पादकत्व बढ्दै गयो । उपनिवेशबाट लुटेर आफ्ना देशका मजदुरहरूलाई बढी पैसा र अन्य सुविधा दिन थाल्यो । पछि त यो संघर्ष पनि सफल हुन थाल्यो कि दिनभरमा ८ घण्टाभन्दा बढी काम गराउन पाइँदैन, गराएमा थप समयको मूल्य चुकाउनुपर्छ ।
पुँजीवादको विकास जुन तीव्र गतिले भयो, त्यसको लामो कथा छ । तर, पुँजीवादले जे जति कुरा हासिल ग¥यो, त्यसको श्रेय औद्योगिक पुँजीलाई जान्छ, वित्तीय पुँजीलाई विलकुलै होइन ।
मिल र कारखानाहरू फैलिँदै गए, नयाँ उत्पादन सामुन्नेमा आउन थाले र बजार विस्तार हुँदै गयो । यो यसको एउटा ठोस प्रगति थियो । त्यसमा बहुसंख्यक जनसाधारणको शोषण त अत्यधिक भयो र आज पनि भइरहेको छ तर त्यसका साथसाथै विभिन्न वस्तुहरू उत्पादन भए, सडक संजाल बन्यो, गाडी, रेल गुड्न र हवाई जहाजहरू उड्न थाले ।
वस्तुतः सभ्यताको नाममा आज हामीले आफ्नो वरिपरि जेजे कुराहरू देख्छौं, ती सबै औद्योगिक पुँजीकै कमाल हुन् भन्ने कुरामा कुनै द्विविधा मान्नुपर्ने कारण छैन ।
पुँजी त्यही धनराशिलाई भनिन्छ, जसको लगानी वस्तु या सेवा उत्पादनमा लगाइन्छ । यो काम समाजवादी तरिकाले गरियो भने वस्तु र सेवाहरू बढी पैदा हुन्छन् र पैदा गर्नेहरूको रहनसहनको स्तर पनि माथि उठ्छ । समाजवादी बाटो मानवीय समस्याको समाधानको मूलबाटो हो, जबकि पुँजीवादी बाटो भनेको लगानी गरेर बढीभन्दा नाफा कमाउने बाटो हो ।
वास्तवमा जुन बाटोमा मुनाफाको बुलडोजर चलिरहेको छ, चलिरहेको हुन्छ, त्यहाँ लागत र मूल्यका बीच कुनै विवेकसंगत सम्बन्ध रहँदैन । त्यसबाट सयौं नयाँ समस्याहरू पैदा हुन्छन् । यस्तो व्यवस्थामा नै अतिसम्पन्नसँग समाजको धन संकेन्द्रित हुने गर्छ र श्रमिक वर्गको हातमा कुनै नयाँ उद्योग सुरु गर्न सोच्न सक्नेसम्म पैसा पनि आउनै पाउँदैन ।
त्यति मात्र होइन, एउटा क्षेत्रका सबै मजदुर मिलेर पनि यस्तो सपना देख्न सक्दैनन् । अर्बपतिको घोडा चारैतिर दौडिने गर्छ र गरिब श्रमिकहरू केवल गृहपति या अझ भनौं, डेरापति भएर रहन्छन् । तर, अहिले यो भन्दा पनि बढी भिन्न किसिमले प्रगति हुँदै गएको छ ।
समाजलाई नयाँनयाँ कुरा प्राप्त भइरहेको छ र मुनाफामा श्रमिकको हिस्सा बढ्दै गएको छ । अमेरिकामा त यो हिस्सा यति बढ्न पुगेको छ कि त्यहाँका उद्योगपतिहरूले आफूले उत्पादन गर्ने माल अरू नै देशका मजदुरहरूबाट गराउन थालेका छन्, जुन मजदुरहरूको प्रतिघण्टाको मूल्य (ज्याला) अमेरिकी मजदुरहरूको भन्दा धेरै नै कम छ ।
भाग्यले नै मानिसलाई जहाँतहाँ लैजाने होइन, त्यो त उद्योगले लैजाने हो । भन्न सकिन्छ कि आजको जमानामा उद्योग नै भाग्य हो र श्रमिक हुने भनेको दुर्भाग्य हो । यस सन्दर्भमा प्रश्न गर्न सकिन्छ कि वित्तीय पुँजीले चाहिँ के गर्छ त ? त्यसले कुनै सेवा प्रदान गर्छ ? या के त्यसले समाजको उत्पादकत्वलाई बढाउँछ ?
त्यसले वास्तवमा यी कुनै कुरा विलकुलै गर्दैन । त्यसले त केवल रुपैयाँबाट रुपैयाँ कमाउँछ या पैदा गर्छ । रुपैयाँबाट रुपैयाँ त उद्योगपतिहरूले पनि कमाउँछन् तर यसका लागि तिनले उद्योगधन्दा अर्थात् कारखाना र दोकान पनि खोल्छन्, माल सामान बेच्छन् । त्यसबाट समाजको कुनै न कुनै आवश्यकताको परिपूर्ति भइरहेको हुन्छ । यसरी उत्पादन एउटा सामाजिक कर्म बन्छ । त्यसबाट समाजलाई केही न केही प्राप्त हुन्छ ।
तर, वित्तीय पुँजी एउटा असामाजिक घटना हो किनभने त्यसले केही पैदा गर्दैन, खालि रुपैयाँबाट रुपैयाँ बनाउँछ । तर, वित्तीय पुँजीको खेलको दायरा आज तीव्र र व्यापक रूपमा बढ्दै नै गइरहेको छ । त्यसले सस्तो दाममा धितो र शेयर किन्छ अनि महँगो मूल्यमा बेच्छ । त्यसले बैंकहरूलाई पनि ऋण (पैसा) दिन्छ र त्यसको ब्याज लिन्छ ।
उसको शक्ति यति धेरै बढ्न गएको छ कि त्यसले कुनै पनि देशको शेयर बजारमा हस्तक्षेप गरेर त्यहाँको अर्थ व्यवस्थामा अपूर्व भुइँचालो ल्याइदिन सक्छ । संक्षेपमा भनिँदा वित्तीय पुँजी भनेको त्यस्तो पुँजी हो, जसलाई कुनै उद्योग धन्धामा लगाइँदैन । यसको विपरीत मात्र सुदखोरीमा लगाइने गरिन्छ या शेयर खरिद–विक्रीमा लगाइन्छ ।
अर्कातिर, कारखाना कुनै एउटा स्थानमा स्थापित हुन्छ । दोकान या पसल पनि कुनै एउटा निश्चित ठाउँमा नै चलाइन्छ । यिनमा लगाइएको पुँजी कुनै आवारा पुँजी हुन सक्दैन किनभने यो पुँजी कुनै स्थान विशेषसँग सम्बन्धित हुने गर्छ । तर, सुदखोरी तथा शेयरको खरिद–विक्रीको काम कुनै पनि ठाउँबाट हुन सक्छ किनकि यो एउटा अन्तर्राष्ट्रिय सौदा हुने गर्छ । त्यसैले यो वित्तीय पुँजी एक ठाउँबाट अर्को ठाउँसम्म कुद्ने वा उफ्रिने गर्छ ।
त्यो हरेक ठाउँमा जान सक्छ । कुनै एउटा देश या क्षेत्रसँग त्यसको कुनै लिनु दिनु हुन सक्दैन । के यसलाई नत्थी लगाउन सकिन्छ ? के यसबाट सामाजिक पुँजीको निर्माण गर्न सकिन्छ ? यसबारेमा नीति निर्माता तथा योजनाकारहरूले सोच्नु राम्रो होला । मानिसहरूका साथमा अतिरिक्त धन सम्पत्ति भएर पनि त्यसलाई कसैले कुनै उत्पादक काममा लगाउन पाउँदैन भने त्यसले कतै न कतै गोलमाल गर्ने गर्छ नै ।
हामीले वित्तीय पुँजीको चरित्रलाई यसरी प्रस्ट र राम्रोसँग बुझ्न सक्छौं । आजको विश्वमा यही पुँजीको बोलवाला र वर्चस्व छ । यो वित्तीय नामको आवारा पुँजीले नै आजको पुँजीवादी संसारलाई हल्लाइरहेको र नचाइरहेको छ ।