–माधव गौतम ‘विनयराज’
श्रमिक तथा मजदुर भएन भने देश निर्माण हुन सक्दैन । देश निर्माणको मेरुदण्डको रूपमा श्रम शक्तिले काम गरिरहेको हुन्छ । यदि देशलाई समृद्ध बनाउने हो भने मजदुरहरूको अवस्थालाई गहिरो गरी बुझ्न सक्नुपर्छ हुन्छ । यद्यपि, हाम्रो देशमा मजदुरहरूको अवस्था निकै नै दयनीय छ ।
एकातिर मजदुरहरूको सन्दर्भमा तथ्यांक नै मिथ्यांक बनाइएको छ भने अर्कोतिर उनीहरूको कुनै पनि खालको सुरक्षाको सुनिश्चितता गरिएको छैन । यो हुनको कारण उद्योगहरूलाई निजीकरणमा लैजानु र राजनीतिक स्थायित्व नहुनु हो । देशको राजनीति अस्थिर र अराजक खालको हुनुले पनि मजदुरहरूले आजको अवस्था भोगिरहेका छन् ।
राजनीति अन्योलग्रस्त एवं जनमुखी नहुँदासम्म श्रमजीवी वर्गको अवस्था पनि अस्थायी नै हुने गर्छ । राजनीति गतिशील र चलायमान बनाउनका लागि मजदुर वर्गको राज्यसत्ता स्थापना गर्न जरुरी छ । अहिले राजसत्ता नवऔपनिवेशिक संसदीय व्यवस्था मातहत छ । यो व्यवस्था श्रम शोषणकारी व्यवस्था हो । जतिसुकै मजदुरहरूले आफूले मिहिनेत गरे पनि जीवन झन् कष्टकर हुँदै गएको छ । हरेक क्षेत्रमा रहेका मजदुरहरूले सोचेजस्तो उद्योग, कलकारखाना नहुँदाको कारण कामको अभावमा भौंतारिनुपरिरहेको छ । जो बिहानदेखि मजदुरी गरिरहेको हुन्छ र पनि छाक टार्न मुस्किल भइरहेको छ । भोकभोकै बस्नुपर्ने अवस्था आएको छ ।
नेपालको सन्दर्भमा उद्योगधन्दा खोल्नुभन्दा पनि भइरहेका उद्योगहरू कौडीको भाउमा बेच्ने र थप उद्योगहरू खोल्ने दिशामा अग्रसर नहुने अवस्था छ । संचालनमा आएका उद्योग, कलकारखानाहरूलाई निजीकरणमा लैजानु आदि कारण मजदुरहरूलाई पारिश्रमिक तथा समान ज्यालामा विभेदपूर्ण स्थिति छ ।
देशमा उद्योगधन्दा खोलिएको भए रोजगारीको अवस्था सिर्जना हुने थियो, मजदुरहरूको संख्या पनि बढ्ने थियो । श्रमिकहरूले आफ्नो क्षेत्रबाट वस्तु र माल उत्पादन गरी देशका लागि योगदान दिने थिए । देश परनिर्भर होइन, आत्मनिर्भर हुने थियो । आज देश परनिर्भर अर्थतन्त्रको कारण अतिकमजोर बनिरहेको छ । राजनीतिक अस्थिरता र सामाजिक न्याय मर्दै गइरहेको छ । परनिर्भरताले देश कमजोर मात्र होइन, प्रत्येक नेपालीको टाउकोमा ८० हजार रुपैयाँभन्दा माथि ऋणको भार परेको छ ।
मानिस जन्मेकै दिनदेखि विदेशी ऋण बोकेर आउनुपर्ने स्थिति छ । यो सबै हुनुमा असफल संसदीय व्यवस्था कारण हो ।
मजदुर वर्ग वा सर्वहारा वर्गको अधिनस्थमा राज्यसत्ता नहुनु पनि मूल समस्याको कारण हो । मजदुरहरूले श्रम गरेनन् भने देशको अवस्था नाजुक हुन्छ । यतिखेर श्रमिक तथा मजदुरहरूको अवस्थामा कुनै सुधार हुन सकिरहेको छैन । परिवर्तनकामी आन्दोलनहरूमा रगत बगाएर आफ्नो ज्यानको आहुति दिने श्रमिक वर्गको भविष्यमाथि खेलबाड गर्ने संसदीय व्यवस्था र व्यवस्था स्वीकार गरिरहेका तथाकथित नेताहरू हुन् ।
तिनीहरूले मजदुरहरूको चौतर्फी हित हुने न कानुन बनाउन सके न मजदुरको हितका लागि पहल लिने काममा अग्रसरता देखाए । कलकारखाना उद्योगधन्दा खोल्न विकास निर्माण लागि नेतृत्व लिन सके । उल्टै श्रमिक वर्गविरोधी सत्ता निर्माण गर्न दिलोज्यान लगाए ।
आज देशको सारा युवा श्रम शक्ति पलायनको दिशातिर अगाडि बढिरहेको छ । जोस, जाँगर र क्षमता हुँदाहुँदै पनि स्वदेशमै रोजगारीको सिर्जना नहुँदा मजदुरहरूले दयनीय अवस्थासँग जुध्नु परिरहेको छ । श्रमिक तथा मजदुरहरूले जीवनभर काम गर्छन् तर उनीहरूमा कहिल्यै खुसीको लहर छाएको भेटिँदैन, जसले उनीहरूको चरम श्रम शोषण भएको देखाउँछ ।
शोषकहरूको हर्ष र खुसीको सीमा छैन । कस्तो विडम्बना ! काम गर्नेचाहिँ भोकभोकै बस्नुपर्ने, जोचाहिँ श्रम गर्दैन, उही मनमोजी हुने । यही हो दलाल पुँजीवादी शासन सत्ताको विशेषता ।
जबसम्म हामीमाथि हरेक प्रकारका कुशासन तथा अन्यायपूर्ण व्यवहार राज्यबाट हुने गर्छन्, तबसम्म हाम्रो सुदूर भविष्यको कल्पना गर्न सकिन्नँ । अहिलेको नवऔपनिवेशिक दलाल संसदीय व्यवस्थालाई चिर्न सबै मजदुरहरूले आफूलाई तत्परतासाथ अगाडि बढाउन जरुरी छ ।
अन्यायले सीमा नाघेको, अस्थिरता र अराजकता बढ्दै गएको र दुनियाँभरि असफलता बेहोरिरहेको पुँजीवादले विभिन्न चरणहरू पार गर्दै यहाँसम्म आइपुग्दा उसले शोषण र दमनका अनेकौं नयाँनयाँ स्वरूपहरू अपनाइरहेको छ ।
मजदुर संगठनलाई बदनाम बनाउन वर्ग समन्वयकारी भूमिका र ट्रेड युनियनवाद जस्ता श्रमिकविरोधी कानुनहरू निर्माण गर्ने, श्रम ऐन, कानुनहरूमा उदारवादका नीति घुसाई मजदुरहरूको जिउन पाउने अधिकारलाई कुण्ठित बनाउने, कथित ‘हायर एन्ड फायर’, ‘नो वर्क, नो पे’, ज्यालादारी, ठेकेदारी, करार प्रथालाई संस्थागत गर्ने खालका गतिविधिहरू तीव्र बनाइएको छ ।
प्रजातान्त्रिकको मुखुण्डोभित्र मानवअधिकारको धज्जी उडाउँदै श्रम शक्तिलाई आधुनिक दास बनाइरहेको छन् । यी सबै समस्याहरूको एक मात्र हल गर्ने विधि भनेकै आफ्नो वर्गीय संगठनलाई थप मजबुत बनाउन हामी सबै आफ्नो क्षेत्रमा कर्तव्यनिष्ठ भई काम गर्न आवश्यक छ ।
क्रान्ति भनेको आधारभूत जनताको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणसहितको परिवर्तनको खातिर गरिने संघर्ष र आन्दोलन हो । यो अभिजात वर्गको सत्तामाथिको निशाना पनि हो । यसका लागि कुनै औपचारिक संगठनले आफ्नो उद्देश्य निर्माण गर्न सक्दैन, परन्तु, वर्गीय संगठन मात्र यस्तो हतियार हो, जसले पुँजीवादी राज्यसत्ताको आधुनिक अस्त्रशस्त्रलाई पराजित गर्न सकिन्छ ।
त्यसका निम्ति श्रमिक वर्ग समुदाय सारा मिहिनेतकस जनताको आफ्नै पार्टी हुन आवश्यक छ, जसले आमजनतालाई समेट्न सकोस् । आमजनतन्त्र, जनजीविका र श्रमिक वर्गको हक, अधिकारलाई शिरोधार्य गर्न सकोस् ।
राष्ट्र र राष्ट्रियताको पक्षमा सच्चापूर्वक उभिन सकोस् । जसले आम उत्पीडित वर्ग, क्षेत्र र लिंगका पक्षमा लडोस् र अधिकार स्थापित गराओस् । आममजदुर तथा श्रमजीवीको वर्गमा उभिने संगठन आजको आवश्यकता हो ।
(लेखक श्रमिक कम्युनिस्ट पार्टी नेपालका नेता हुन् ।)