काठमाडौं : महिला सहकारी संस्था लिमिटेड जोरपाटी सेवा केन्द्रको २९औँ साधारण सभा सम्पन्न भएको छ । महिला लघु ऋण परियोजना कार्यक्रम जोरपाटी सेवाकेन्द्रका अधिकांश शेयर सदस्यहरूको उपस्थितिमा पुस १६ गते संस्थाको साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा जयलघुवित्त परियोजना व्यवस्थापक पुष्पराज भटटले सरकारबाट भएको सहकारी सम्बन्धी अध्यादेश २०८१ को समर्थन रहेको बताएका थिए । साधारण सभामा संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरिएको थियो ।
संस्थाले आर्थिक वर्ष ०८०/८१ मा कुल कर्जा लगानी १ अर्ब ६१ करोड ६९ लाख लगानी गरी कुल १ अरव २३ करोड ७ लाख शेयरधनी सदस्यबाट निक्षेप संकलन गरेको छ भने वित्तीय संस्थाबाट ३ करोड ११ लाख कर्जा लिई विपन्न वर्गमा कर्जा प्रवाह गरेको छ ।
संस्थाको शेयर पूँजी ७ करोड ४८ लाख छ भने कुल सम्पत्ति २ अर्ब १२ करोड २४ लाख र जम्मा दायित्व १ अरब ५९ करोड २ लाख र कुल इक्वीटी ५३ करोड २१ लख ९२ हजार गरी कुल दायित्व तथा इक्विटी २ अरव १२ करोड २४ लाख कायम रहेको सहकारीले जनाएको छ । आर्थिक वर्ष ०८०/८१ मा खुद सञ्चालन आम्दानी १७ करोड ७१ लाख ७८ हजार र सञ्चालन मुनाफा ४ करोड ५० लाख आर्जन गर्न सफल भएको छ । त्यस्तै, शेयरधनीलाई शेयर लाभांश १० प्रतिशत दिन संस्था सफल भएको छ भने जगेडा कोषमा ७२ लाख ८४ हजार र संरक्षित पूँजी फिर्ता कोषमा ५४ लाख ६३ हजार जम्मा गरेको छ ।
साधारण सभामा जेष्ठ उद्यमी ३ जना, एकल महिला सफल उद्यमी ३ जना, उत्कृष्ट ऋणी ३ जना, उत्कृष्ट केन्द्र ३ वटा, १६ वटा केन्द्रलाई प्रोत्साहन रकम गरी कुल ७५ हजार बराबरको नगद, दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, शेयरधनी सदस्यहरूबाट छात्रवृत्तिका लागि संकलन गरेको ३३ लाख ९८ हजार को ब्याज ३ लाख ४८ हजार मध्ये जोरपाटी सेवा केन्द्रमा स्कूल स्तरमा अध्ययनरत छात्रा ४ कक्षादेखि १० सम्मका १३ जना छात्रालाई शैक्षिक सामग्री र नगद २५०० देखि ३५०० सम्म नगद उपलब्ध गराइएको थियो ।