एपी न्यौपाने/मध्यान्ह
काठमाडौं : कालिकोटस्थित राष्कोट नगरपालिकाका केही वडाहरुमा बाहिरबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्न असहजता पैदा हुने गरेको छ । जिल्ला बाहिरबाट आउने स्थानीयलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने भएपनि स्थानीयकै असहयोगका कारण क्वारेन्टाइनमा बस्नेहरुको संख्या धेरै न्यून छ ।
राष्कोट नगरपालिकाले मात्रै सबै वडामा गरेर ११ ओटा क्वारेन्टाइन सेन्टर बनाएको छ । तर उक्त क्वारेन्टाईनमा बस्ने स्थानीयको संख्या भने धेरै न्यून भएको वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद धमलाले जानकारी दिए । उनका अनुसार कतिपय स्थानीयहरु भारतबाट आएका छन् । जसलाई क्वारेन्टाइनमा बसाउनका लागि लिन जाँदा कहिले गाली गर्छन भने कहिले ढुंगाले हान्ने सम्मका हर्कत गर्ने गरेका छन् ।
त्यसैले अब क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयलाई रिसिभ गर्नका लागि प्रहरीसहितको टोली बनाएर रिसिभ गर्ने प्रयास गरिएको उनको भनाई छ । नगरपालिकाले सरकारले गरेको निर्णय अनुसार अब एक नगरपालिकादेखि अर्काे नगरपालिका जान र आउन पनि प्रतिबन्ध लगाएको नगरपालिकाका मेयर काशीचन्द्र बरालले जानकारी दिए ।
उनका अनुसार नगरपालिका भित्रिने प्रमुख नाकामा हेल्थ डेस्कको निर्माण गरिएको छ जसको मद्धतबाट उक्त नगरपालिका भित्रिनै सबैको स्वास्थ्य जाँच गर्ने गरिएको छ । यस्तै नगरपालिकामा भएका ११ ओटा क्वारेन्टाइन स्थलमा भने निकै न्यून उपस्थिति रहेको उनले जनाए । नगपालिकाका सबै स्थानमा क्वारेन्टाईनको व्यवस्था गरिएपनि सोही अनुसार बाहिरबाट आउने स्थानीय बस्ने गरेका छैनन् । बाहिरबाट नगरपालिकामा भित्रिनेहरुको संख्या उल्लेख्य भएपनि क्वारेन्टाइनमा बस्नेहरुको संख्या भने न्यून छ ।
नगरपालिकाले क्वारेन्टाइनमा दिनमा ३ पटक खाना, माछा मासुलगायत पोषणयुक्त खानेकुराको समेत व्यवस्था मिलाएको मेयर बराल बताउँछन् । यस्तै क्वारेन्टाइनमा बस्नेहरुलाई समय कटाउन टेलिभिजनको पनि व्यवस्था गरिदिने योजना रहेको मेयर बरालले मध्यान्हलाई बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies