काठमाडौं : सिद्धार्थ बैंकले केही सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारमा सत्यता नरहेको बताएको छ । बैंकले विज्ञप्ति जारी गर्दै ग्राहक, सरोकारवाला र सर्वसाधारणमा सो समाचारले भ्रम सिर्जना गरेको र सत्यतासँग मेल नखाएको जनाएको छ ।
बैंककाअनुसार क्षीरेश्वर र जनकपुर शाखाबाट ऋण लिएका ग्राहकहरूले समयमै साँवा र ब्याज भुक्तानी नगरेपछि कानुनी प्रक्रियाअनुसार धितो लिलामको प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा गरी सफल बोलकबोलकर्तालाई सम्पत्ति हस्तान्तरण गरिएको थियो । तर, केही व्यक्तिहरूले ऋणी÷जमानतीसँग मिलेर विरोध जनाएका थिए । उनीहरूले पुस ११, १२ र १४ गते बैंकका कार्यालयहरूमा नाराबाजी गरी सेवा अवरुद्ध गरेका थिए । यसपछि स्थानीय सुरक्षा निकायसँग समन्वय गरी छलफलका लागि प्रहरी कार्यालयमा बैठक बसेको बैंकले जनाएको छ ।
प्रहरी कार्यालयमा भएको छलफलका क्रममा खिचिएको भिडियोको आधारमा शाखा प्रबन्धक पक्राउ परेको झुटो समाचार फैलाइएको बैंकले जनाएको छ । बैंकले सो सूचना तथा जानकारी गलत भएको र ऋण असुली प्रक्रिया कानुनी रूपमा अघि बढाइएको स्पष्ट पारेको छ । कानुनी प्रक्रियातर्फ नगई बैंकजस्तो संवेदनशील संस्थाको सेवा नै अवरुद्ध हुनेगरी वाधा व्यवधान सिर्जना गर्नु उचित नहुने बैंकको धारणा रहेको छ ।