सत्य गौतम
चैत महिना लागेसँगै काठमाडौंमा एक प्रकारको सन्नाटा छाइसकेको थियो । त्यसमा पनि सरकारले पहिलो हप्ताभित्र माध्यमिक तहको परीक्षा सक्न जारी गरेको उर्दीले कोरोना भाइरसको महामारी बढ्दै जाने संकेत गरिसकेको थियो । गत वर्षको डिसेम्बरबाट चीनको हुबेइ प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोनाका संक्रमितको संख्या दिनहुँ बढ्दै गएका थिए । मृतकको संख्या र विभिन्न देशमा फैलिँदै गएको महामारीका समाचारले जो कोही नेपाली अतालिन थालेका थिए । केही समयअघि मात्र चीनको वुहानबाट १५९ जना विद्यार्थीको उद्धार गरेर सरकारले भक्तपुरको खरीपाटीमा ल्याएर क्वारेन्टाइमा राखेको थियो । कोरोनाको महामारी फैलिएपछि चीनको वुहानमा लकडाउन गरेसँगै बन्दान्दीमा परेका नेपालीलाई सरकारले ढिलोगरी नेपाल फर्काएको थियो ।
अन्तर्राष्ट्रिय समाचार च्यानलहरुमा दैनिक कोरोनाका बिरामी, नयाँ संक्रमति र मृतकको समाचार हेर्दा हेर्दा नेपालीहरु पनि त्रसित हुनु स्वभाविक थियो । अचानक सरकारले चैतको पहिलो हप्ता अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्यो । त्यसपछि नेपालमा पनि सुरु भयो कोरोनाको त्रास । दिनहरु बित्दै गए । टेलिभिजन च्यानलहरुमा हरेक दिन काठमाडौं उपत्यका छोडेर घर जानेहरुको संख्या बढ्दै गएको बताउन थाले । सरकारले पनि चैत नौ गतेसम्म काठमाडौंबाट १० लाखभन्दा बढीलाई आ–आफ्नो घर फर्काउने प्रोत्साहन गरिरहेको थियो । अधिकांशले आफ्ना व्यापार व्यवसाय बन्द गराएर भएपनि उपत्यका छाडे । सायद केही दिनका लागि मात्र होला भन्दै उनीहरु बालबच्चा च्यापेर पुख्र्याैली थलोमा फर्किए ।
सरकारले अचानक चैत १० गते बेलुका एक साताका लागि लकडाउनको घोषणा ग¥यो । अत्यावश्यक सेवा प्रदायकबाहेक अन्यलाई हिडडुल गर्न प्रतिबन्ध लगाएर सरकारले लकडाउनको घोषणा ग¥यो । यो एक प्रकारको कर्फ्यूजस्तै नै हो । घरबाट बाहिर निस्कन नपाउने सरकारको निर्णयसँगै नेपालमा कोरोनाको आशंका गरिएका व्यक्तिहरु फेला परेका समाचार पनि दिनहुँ आइरहेका थिए । लकडाउन भएसँगै पश्चिम नेपालका विभिन्न नाकामा भारतमा रोजगारीमा गएका नेपालीहरु फर्कन नपाएको र सीमामा अलपत्र परेका समाचारहरु आइरहेका थिए । यता नेपाल सरकारले तीन नेपाली स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नसक्दा उनीहरु आफ्नो देशमा आउन पनि शासकको आदेश कुरीरहेका थिए । एकातिर कोरोना भाइरस संक्रमणको त्राश थियो भने अर्कोतिर उनीहरुलाई घर फर्किए परिवारसँग समय बिताउने तीव्र इच्छा ।
सीमामा अलपत्र परेका नेपालीहरु आ–आफ्नो घर फर्किएसँगै एक प्रकारको संशय फैलियो । उनीहरुमध्ये केही कोरोना संक्रमित भएका समाचार आएसँगै पश्चिम नेपालका स्थानीय झन् त्रसित भएका छन् । तर सरकारले ती क्षेत्रमा पर्याप्त चेकजाँच र क्वारेन्टाइनको व्यवस्था गर्न नसक्दा उनीहरु अझै निर्वाध रुपमा हिडडुल गरिरहेका मात्र छैनन् यदि संक्रमित भए अरुलाई पनि कोरोनाको संक्रमण फैलाइरहेका छन् । एक साताको लकडाउनको समय बित्न नपाउँदै दैनिक काम गर्न नपाएर भोकै बस्नु परेका बिपन्न, ज्यालादारी र मजुदरलाई खानाको व्यवस्था गर्नुपर्ने भन्दै सर्वत्र आवाज उठ्न थालेपछि देशभर राहत र सहयोगका कुरा आउन थाले । विभिन्न स्थानीय निकायले आफ्नो क्षेत्रमा लकडाउनले समस्यामा परेकाहरुलाई राहत वितरण गर्न थाल्यो । काठमाडौंका विभिन्न स्थानीय तहले पनि आफ्ना क्षेत्रमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने योजना बनाउनु स्वभाबिक हो । अन्य बेलामा जस्तो खाद्यान्न र तरकारी पसलहरु यति बेला खुलेका छैनन् । सरकारले नै धेरै जना भीडभाड नगर्नु भनेकाले सबै मानिस बाहिरका मासिनसँगको हिमचिममा छैनन् ।
सरकारले घरधनीलाई समस्या परेको बेला तीन महिनाको घर भाडा छुट दिन आग्रह गरेका समाचार आइरहेका छन् । त्यतिमात्र नभई बैंकको किस्ता तिर्न वा बिजुलीको बील तिर्न हतार नगरेपनि बिलम्ब शुल्क नलाग्ने व्यवस्था सरकारले गरेको छ । घर बाहिर जान नपाएपछि सबैजसो मानिस घरमै छन् यति बेला । १५ दिनदेखि घरबाहिर जान नपाउँदा पट्यार लाग्नु पनि स्वभाविक हो । त्यसैले घरधनीहरु आफ्ना घरका छत छतमा बसेर राहत पाउनुपर्ने बहस गरिरहेका छन् । सरकारले दिने सबै प्रकारका छुट आफूहरुले पाउनुपर्ने बहस गरिरहँदा त्यही घरमा भाडामा बस्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी वा अत्यावश्यक सेवा प्रदायक संस्थामा काम गर्नेलाई घरबाट निकाल्नेसम्मका धम्की घरधनीले दिन थालेका छन् । जथाभावी घर बाहिर गएकाले संक्रमण सार्ने डरले अधिकांश घरधनीले यतिबेला कोठामा बस्नेहरुसँग बोल्न समेत हिचकिचाइरहेका छन् ।
मुलुकमा आपत परेका बेला सबैले आ–आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्नु आम नेपालीको कर्तव्य हो । समस्यामा परेका बेला सरकारले पनि आफ्ना नागरिकलाई सहयोग गर्छ । त्यो राज्यको जिम्मेवारी हो । तर हामी आफ्नो अधिकार मात्र खोज्छौं ं। जब जिम्मेवारीको कुरा आउँछ तब नेपाली पछि हट्छन् । कोरोनाको त्रास फैलिएको यो समयमा देशभरका अधिकांश घरधनीहरु आफ्नो जिम्मेवारीबाट पछि हटेका छन् । अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने र समस्याको बेलामा आफ्नो कर्तव्यबाट पछि हट्न कति पनि हिचकिचाहट छैन तिनीहरुलाई । सरकारले दिने राहत चाहिने घरधनीले आफ्नो घरमा भाडामा बसेको मानिसलाई एक महिनाको घर भाडा छुट दिन आनाकानी गरेका छन् । आफ्नो मात्र समस्या देखाएर जिम्मेवारीबाट पछि हट्दा तिनीहरुलाई राज्यले छुट दिन जरुरी छैन । वर्षौदेखि घर भाडामा लगाएपनि थारै भएपनि घरबहाल कर समेत तिर्न नजाने घरधनी आपतका बेलामा सरकारले दिएका सबै छुटको उपयोग गर्न अग्रसर छन् । तर अरुलाई सहयोग गर्नुपर्ने बेलामा उनीहरु पिठ्यू फर्काएर बसेका छन् । त्यसैले पनि सामाजिक सञ्जालमा घर धनीहरुको विरोध मात्र भएको छैन । उनीहरुको प्रतिक्रिया र गतिविधिका ट्रोलहरु पनि बन्न थालेका छन् । गलामा सुनको सिक्री लगाएर हातमा आइफोन बोक्दै पाँचकिलो चामल–दाल र एक डल्लो साबुन लिन लाइनमा बसेका छन् घरधनीहरु । जो राज्यले दिने सुविधा हामीले चाँहि किन नपाउने भन्दै लबस्तरो प्रश्न ते¥याएर राहतका पोका बोक्दैछन् । लकडाउनका बेलामा आफ्नो टोल छिमेकमा कुन संस्थाले के राहत वितरण गर्न आउँछ भन्ने आशमा बसेका घरधनीहरु एक मुठा साग सहयोग लिन पनि पछि पर्दैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies