-प्रो. रमजान अली मियाँ
गत २९ फेब्रुअरी २०२० (२०७६ फाल्गुन २७ गते) का दिन पहिलो पटक इरानबाट फर्केका एक ३६ वर्षीय कतारी नागरिकमा देखिएको कोरोना संक्रमणले यतिबेला कतारलाइ पनि चुनौती दिइरहेको छ । तथापि कतारको यस रोगको निवारण तथा उन्मुलन प्रतिको विषेश चासो र लगनशीलले यहाँ रहेका आप्रवासीहरुको मन जित्न सफल भएको छ । कतारले कयौं स्थानमा क्वारेन्टाइन केन्द्र तथा आइसुलेशन केन्द्रहरु निर्माण गरिसकेको छ । दैनिक ७०० देखि ३५०० भन्दा अधिकको कोरोना चेकजाँच गर्न कतार सक्षम रहेको छ । जस्का कारण यहाँ छिटो छिटो कोरोनाका संक्रमित पत्ता लगाउन सहज भएको छ । कतारले कोरोना भाइरस रोग माथि नियन्त्रण गर्न आरम्भ देखि नै आधुनिक प्रणाली र नौला उपायहरु खोज्दै र अपनाउँदै आएको देखिन्छ ।
मार्च महिनाको पहिलो हप्तादेखि नै कतार आउने र कतारबाट उडान भर्ने सबै उडानहरुलाइ शुरुमा १४ दिन त्यसपछि अर्को पटक समयावधि थपेर उडान र अवतरणमा रोक लगाइएको छ । तथापि कुनै पनि कतारी १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा कुनै पनि बेला सुविधाअनुसार कतार फर्कन सक्दछ । कतारले यस घडिमा आफ्नो मात्र होइन विश्व समुदायको पनि सहयोग गरिरहेको छ । पछिल्लो पटक चीन इरान लगायत इटालीलाई कतारले अत्यावश्यक स्वास्थ्य सामग्री र अन्य सहयोग गर्दै आएको छ । जसले गर्दा कतार अन्तर्राष्ट्रिय जगतको मन जित्न सफल छ । आफ्ना छिमेकी मुलुकहरुसँग पनि यस प्रकोप जित्न र यसमा विजय हासिल गर्न संवाद गरिरहेको देखिन्छ । आइकाओ मार्फत खाडी मुलुकहरुले आ आफ्नो एयर स्पेस खोलेर कोरोना निवारणमा आ–आफ्नो भुमिका निर्वाह गर्न अपिल समेत गरिसकेको छ । आफ्नो विशेष कुटनैतिक प्रक्रिया अनुसार विश्व जगतसँग कतार हातमा हात, काँधमा काँध मिलाएर कोरोनालाई परास्त गर्न नयाँ नयाँ योजना बनाउन व्यस्त पाइन्छ । यस्तो विषम परिस्थितिमा पनि कतार कत्तिपनि पछि नहटी कोरोनाको मुकाबिला गरिरहेको छ । कयौं क्षेत्रका गतिविधि स्थगन भएता पनि कतारको दैनिकी तथा जनजीवन प्रगतितर्फको यात्रा निरन्तर जारी नै छ । यद्यपि कतारको औद्योगिक क्षेत्र सनाईया जहाँ अधिकांश आप्रवासीहरु काम गर्छन् र बसोबास पनि गर्दछन्, यो क्षेत्र विगत १७ मार्च २०२० देखि सुरक्षाको दृष्टिकोण तथा स्वास्थ्य सुरक्षालाई हृदयंगम गर्दै सबै कुराको व्यवस्थापनसहित पूर्णरुपमा लकडाउन गरिएको छ । पहिलो पटक दुई सप्ताहको लागि लकडाउन गरिएकोमा समयावधि पुनः थपिएको थियोे । जुन कार्य आवश्यक मात्र होइन अति आवश्यक रहेको थियोे ।
कतार सरकारले यो प्रकोप फैलिन नदिनका निम्ति देशभरिका सार्वजनिक स्थल, समुद्री किनाराहरु, सार्वजनिक पार्क, रेस्टुरेन्ट तथा क्याफेटेरिया र मस्जिदहरुको अगाडि कुनै पनि किसिमको जमघट तथा भेलाहरुलाई पूर्णरुपम प्रतिबन्धित गरेको छ । यस नियमको उल्लंघन गर्नेलाई २ लाख रियाल भन्दाबढी र अधिकतम ३ वर्ष कारावास सजाय हुने गरी नियमन गरिएको छ । देशभरिका क्लब, जिम सेन्टर, शैलुन, खेलमैदान लगायत मानिस भेला हुन सक्ने र भिडभाड हुन सक्ने सम्भावित सबै क्षेत्रहरु बन्द गरिएको छ । जसले गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को निर्देशन पूर्णरुपमा पालमा गर्न कतार सक्षम भएको छ । यद्यपि दैनिक अत्यावश्यकबाहेक अन्य कार्यालय र पसलहरुलाई बिहान ६ बजेबाट १ बजे सम्म मात्र खोल्ने अनुमति प्रदान गरिएको छ भने रेस्टुरेन्ट, मासु पसल तथा कयौं अन्यलाई बेलुका ७ बजेसम्म मात्र संचालन गर्ने अनुमति दिएको छ । श्रमिकहरु बोक्ने यातायातका साधनलाई क्षमता भन्दा ५० प्रतिशत मात्र यात्रु बोक्न र कार्य क्षेत्रमा पनि ५० प्रतिशत जनशक्ति मात्र प्रयोग गर्न निर्देशन दिइएको छ ।
यसैगरी अन्य दक्ष जनशक्तिको हकमा ८० प्रतिशत जनशक्तिले घरबाटै आफ्नो कार्य सम्पादन गर्न सक्ने र २० प्रतिशत जनशक्ति मात्र प्रत्यक्ष कार्यस्थलमा उपस्थित भएर कार्य सम्पादन गर्ने उचित व्यवस्था गरिएको कारण कुनै पनि काम ठप्प भएको छैन र दैनिकी आफ्नो गतिमा संचालनमा रहेको छ । शैक्षिक संस्थाहरु बन्द भएता पनि कयौंलाई अनलाइन प्रविधिमार्फत पठनपाठन गर्ने व्यवस्था मिलाइएको कारण शैक्षिक गतिविधिमा कुनै अवरोध सृजना भएको छैन ।
आप्रवासीहरुको जनचेतनाका निम्ति र यस प्रकोपबाट सावधानी अपनाउनका लागि नेपाली समेत कयौं भाषाहरुमा अडियो, भिडियो, कागजी पम्फ्लेटहरु प्रचारप्रसार एवं वितरण गरिएका छन् भने रेडियो टिभि तथा सामाजिक सञ्जालमार्फत जानकारी उपलब्ध गराउने व्यवस्था गरिएका कारण आप्रवासी कामदारहरुले यस बारे राम्रो ज्ञान राख्न सक्षम भएको कामदारहरु बताउँछन् ।
श्रम, श्रमिक तथा खाना आवास सम्बन्धि कुनै गुनासा उजुरीहरु भए श्रम मन्त्रालयले अवलम्बन गरेको म्यासेज नम्बर ९२७२७ मार्फत पहिलो चरणमा उजुरी दर्ता गर्न सकिन्छ भने कोरोना सम्बन्धि कुनै समस्या भए वा जानकारी लिनुदिनु परे हटलाइन नम्बर १६००० मा सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।
देश भित्र रहेका सफारी मल लगायत ठूला सपिङ्ग मलहरुलाइ २४ सै घण्टा पनि खुला राखिएको छ । सरकारले हरेक दुई तीन दिनमा पत्रकार सम्मेलनमार्फत देशका नागरिक र वासिन्दाहरुलाई आधिकारिक जानकारी दिने गरेको छ ।
कतारमा रहेको नेपाली समुदायकोहकमा शुरुआतका दिन देखि नै नेपाली राजदूतावास कतार आफ्ना नागरिकको सुरक्षामा कटिबद्ध भई लागिपरेको छ । सरकारद्वारा जारी गरिएका सुचना र कोरोनाबारे सचेतना जगाउन विभिन्न सुचना सम्प्रेषण गर्नेदेखि लिएर अत्यावश्यक बाहिरङ्ग सेवा हाल पनि नियोगले प्रदान गर्दै आएको छ । यस परिस्थितिमा पनि श्रमिक लगायत आम नागरिकको हक अधिकारको सुनिश्चितताका लागि कतारस्थित राष्ट्रिय मानव अधिकार समितिले पनि आफ्नो हटलाइन सेवा आरम्भ गरेको छ । यी हटलाइन मार्फत सबैले २४ सै घण्टा आफ्नो समस्यको समाधान र कुनै गुनासोको उजुरी गर्न सक्ने व्यवस्था छ ।
कतारमा विभिन्न समस्यामा परेका नेपालीहरुको सहयोगार्थ गैर आवासइी नेपाली संघ कतारले कतारको स्थानइी निकाय र विभिन्न परोपकारी संस्थासँग मिलेर उद्दार तथा राहत वितरण गर्ने काम तीब्र रुपमा गरिरहेको छ । यस अभियानमार्फत धेरै नेपालीहरुले ठुलै राहत पाएका छन् । गैर आवासइी नेपाली संघले विभिन्न सचेतनामुलक गतिविधि पनि सञ्चालन गरेको छ । जसमा नेपाली व्यवसायी संघ कतारलगायत समाजका अन्य समाजसेवीहरुले संघलाई उल्लेख्य सहयोग गर्दै आएका छन । यस्तो विषम परिस्थितिमा नेपालीहरुबीच देखिएको यस प्रकारको सहकार्य र आत्मइीताले अत्यन्तै राम्रो सन्देश प्रवाह गरेको छ ।
नेपाली श्रमिक तथा आम नेपाली जनसमुदायमा कतार सरकारले जारी गरेका नियम कानून तथा आपतकालीन अवस्थामा सम्पर्क गर्ने हटलाइन नम्बर, सम्पर्क नम्बर र त्यस्को विधि एवं प्रक्रियाबारे गैर आवासइी नेपाली संघले सचेतना प्रवाह गर्नुपर्ने आवश्यकता देखिएको छ । कयौंलाई हालसम्म पनि कतारले अवलम्बन गरेका सुविधाहरुबारे राम्रो ज्ञान नभएको पाइएको छ । जसका कारण अलमलको अवस्था विद्यमान रहेको छ । कतारमा रहेका सञ्चारकर्मीहरुको भूमिका र समयमै सुचना प्रवाहले पनि नेपाली समाजलाई ठुलै राहत पुगेको छ । कतारले गलत सूचना प्रवाह गरे अनाधिकृत जानकारी सम्प्रेषण गरेको अभियोगमा कानूनी जवाफदेहिता हुने नियमलाई कडाइका साथ लागू गरेको छ । तसर्थ कुनै सुनेको वा पढेको बिषयलाई तुरुन्तै सम्प्रेषण गर्नबाट बच्नु पर्ने देखिन्छ । कतारले हालका दिनहरुमा जारी गरेका नियम र कानूनहरुको पूर्ण पालना गरे हाम्रो र समाजको हितमा कल्याण हुने कुरालाई कसैले नकार्न सक्दैन ।
खाडीका अन्य मुलुकमा कोरोनाका कारण नेपालीको मृत्यु भएता पनि कतारमा हालसम्म नेपालीको मृत्यु भने भएको छैन । अन्य आप्रवासी झै कयौं नेपालीहरु पनि कोरोना चेकजाँचको क्रममा स्वास्थ्य केन्द्र तथा क्वारेन्टाइनमानमा रहेका छन् ।
केही नेपालीहरुको कोरोनोको कारण नभई अन्य कारणले अनायासै मृत्युवरण गर्नु परेको कारण हाल विमानसेवा उपलब्ध हुन नसकेकोले ति शवहरु यहाँका अस्पतालमा रहेका छन् । सरकारले यी शवहरुको छिटो व्यवस्थापन गर्नुपर्ने अपरिहार्य भइसकेको छ । नेपालका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीद्वारा विभिन्न देशमा रहेका आफ्ना नागरिकहरुको विषयमा सम्बन्धित देशका समकक्षीसँग वार्तालाप गरी चासो राखिएको सन्दर्भमा कतारका नेपालीहरुको बारेमा यस्तो चिन्ता र चासो नदेखिनुले कतारका नेपालीहरुले दुःख व्यक्त गरेका छन् । तसर्थ नेपालले कतारका उच्च निकाय समक्ष नेपालीहरुको बारेमा चासोपूर्वक सुरक्षा र सुविधाबारे आफ्नो कुरा राख्न कत्ति पनि ढिला गर्नुहुँदैन ।
कोरोना भाइरसको सम्भावित जोखिमलाइ मध्यनजर गर्दै कतार सरकारले अर्को सूचना जारी नगरेसम्म दैनिक उपभोग्य वस्तु, खाद्यान्न पसल, औषधि पसल, ढुवानी सेवा, पेट्रोल पम्प, डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सम्पूर्ण ट्रेडिङ गतिविधि र पसलहरु शुक्रबार र शनिबार पुर्ण बन्द गर्ने निर्णय गरेको छ । तथापि सवारी साधनको आवतजावत निरन्तर नै हुनेछ भने अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन विशेष अनुरोध गरिएको छ ।
कतारमा कोरोना भाइरस देश भित्रबाट ७२ प्रतिशत संक्रमण, २६ प्रतिशत बाहिरबाट आएकाहरुबाट र २ प्रतिशत खुल्न बाँकी रहेका छन् । संक्रमित मध्य २ प्रतिशतको अवस्था गम्भीर र ३७ जनाको आईसीयू कक्षमा उपचार हुँदैछ ।
(प्रो. मियाँ राष्ट्रिय मानव अधिकार समिति कतारमा नेपाल संयोजक हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies