२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

चित्लाङमा दुध दिने बाख्रा विकास गरिँदै

ADV
मध्यान्ह
२०८१ असार १० गते १३:४२
चित्लाङमा दुध दिने बाख्रा विकास गरिँदै

 

हेटौँडा : दुध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दुध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दुध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन् । बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दुध उत्पादन गर्ने जातको बाख्रा विकास गरिरहेको छ ।

वर्षमा दुईपटक बियाउने र एक बेतमा करिब आठ सयदेखि एक हजार लिटरसम्म दुध दिने ‘सानन’ जातको बाख्रा तयार गरिरहेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ । बाख्राको दुध छिमेकी मुलुक भारतमा प्रतिलिटर एक हजारले बिक्री हुने गरेको छ । सोही जातको बाख्रा किसानले पाल्न सक्ने गरी विकास गरिरहेको बाख्रा विकास फार्म चित्लाङका प्रबन्धक विश्वेश्वरप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार नेपालमा विसं २०७२ मा स्विजरल्यान्डबाट ल्याइएको उक्त बाख्राको सङ्ख्या हाल ३५ वटा पुगेको छ । अब किसानलाई पालनका लागि वितरण गर्ने तयारी रहेको उनले बताए । दुध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबका लागि गाईसरह भन्न मिल्ने उनको धारणा छ । उनले भने, “एउटा बाख्राले दिनमा तीनदेखि चार लिटरसम्म दुध दिन्छ, बाख्राले बच्चालाई दुध खुवाएर पनि यति धेरै दुध आउने गर्छ ।”

“हामीले स्थानीय खरी जातको बाख्रा र सानन जातको ‘क्रस’ (दुई जातका बीच प्रजनन प्रक्रिया) उत्पादन गरिरहेका छौँ जसलाई नेपालको कुनै पनि हावापानीमा पाल्न मिल्छ, यी जातका बाख्रा बलिया र निरोगी छन्”, उनले भने । दुधमा आत्मनिर्भर हुन पोषिलो दुध का लागि यो जातको बाख्रा उपयुक्त हुने उनको भनाइ छ ।

सानो परिवारलाई दैनिक तीनदेखि चार लिटर दुध पर्याप्त हुने र बाख्राको दुधमा कोलेस्टोरेल नहुने भएकाले यो दुध उत्कृष्ट हुने फार्मका पशु प्राविधिक बताउँछन् । कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत सञ्चालित बाख्रा विकास फार्म चित्लाङमा पाँचवटा बाख्रा ल्याएर सङ्ख्या बढाउँदै हाल ३५ वटा पु¥याइएको हो । सानन जातको वयस्क बोकाको तौल ९० देखि एक किलोग्रामसम्म हुन्छ । बाख्रा भने ७५ देखि ८० केजीसम्मको हुने फार्मका प्रबन्धक यादवले बताए ।

बाख्राको दुध जुनसुकै उमेर समूहले खान मिल्छ । सरकारी दररेटअनुसार सानन जातको पाठापाठी प्रतिकेजी एक हजारका दरले बिक्री गर्ने गरिएको छ । नेपालमा गरिएको अनुसन्धानबाट सानन जातको बाख्रा समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइसम्ममा पालन गर्न सकिन्छ ।

अन्य जातका बाख्राभन्दा यी बाख्रा चाँडो हुर्कने र दुध उत्पादनका लागि आहाराको मात्रा बढी दिनुपर्ने हुन्छ । तत्कालीन राणा शासकले विसं २००१ मा स्थापना गरेको भेँडा फार्मपछि बाख्रा विकास फार्ममा परिणत गरिएको हो । फार्मले मागअनुसार बाख्रा उपलब्ध गराउन सकेको छैन । फार्ममा उत्पादन भएको भन्दा तेब्बर माग हुने गरेकोे फार्मले जनाएको छ । सरकारी फार्ममा शुद्ध नस्लको बाख्रा पाइने विश्वासले किसानले धेरै माग गर्ने गरेको फार्मका प्रबन्धक यादवको भनाइ छ ।

फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन जातको बाख्रा उत्पादन गर्दै आएको छ । फार्ममा चरिचरनका लागि बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडापालनमा समस्या हुने गरेको छ । जग्गा पर्याप्त भए पनि चरिचरन क्षेत्र थोरै भएकाले वर्षको छ महिना मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् । वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदिलाई साइलेस (घाँसको गुन्द्रुक) बनाएर फार्मले राख्ने गरेको छ । फार्ममा बाख्रा, भेडा, मासुका लागि खरायो र दुधका लागि जर्सी गाई पालिएको छ ।

किसानले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्ममा उक्त जातको एउटा बाख्राले एक बेतमा आठ सयदेखि एक हजार लिटरसम्म दुध दिने गरेको फार्मले जनाएको छ । रासस

ADVADV

सम्बन्धित खबर

Advertise