दम्माम, साउदी अरेबिया : साउदी अरेबियामा बसोबास गर्ने नेपाली समुदायका लागि दोस्रो दम्माम भेट्रान गोल्डकप-२०२५ को आयोजना हुने भएको छ ।
नेपाली समुदायबीच लोकप्रिय दम्माम भेट्रान फुटबल क्लबले यो प्रतियोगिता मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व ईद अल फितरको उपलक्ष्यमा आगामी मार्च ३० तारिकमा आयोजना गर्ने भएको हो ।
“स्वास्थ्य र अनुशासनका लागि खेल” भन्ने भावनासहित आयोजना गर्न लागिएको यस प्रतियोगिताले खेलकुदको महत्वलाई उजागर गर्दै स्वास्थ्य र अनुशासनको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । साथै, यसले नेपाली समुदायमा सामाजिक एकता बलियो बनाउन र नेपाली संस्कृतिलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा साउदी अरेबियाका विभिन्न क्षेत्रबाट नेपाली फुटबल क्लबहरूको सहभागिता रहनेछ । दम्माम भेट्रान फुटबल क्लबका प्रथम उपाध्यक्ष अनमोल ठकुरीका अनुसार, प्रतियोगिताको तयारी शुरु भइसकेको छ । यस वर्षको प्रतियोगितालाई अझ भव्य र सफल बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
प्रतियोगिता आगामी मार्च ३० तारिक ईद अल फितरको पहिलो दिन थुग्बा फुटबल क्लबको मैदान, अजिजिया खसी बजारमा आयोजना हुनेछ । यो स्थान यातायातको सहज पहुँच र पर्याप्त दर्शक क्षमता भएकोले खेलाडी र दर्शकका लागि अनुकूल मानिएको छ ।
प्रतियोगितामा विजेताले दुई लाख ५२ हजार रुपैयाँ (७ हजार रियाल) नगद पुरस्कार, ट्रफी, र मेडल प्राप्त गर्नेछ । उपविजेताले एक लाख ४४ हजार रुपैयाँ (४ हजार रियाल) नगद पुरस्कार, ट्रफी, र मेडल पाउनेछ । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिने छ ।
गत वर्ष आयोजित पहिलो संस्करणको दम्माम भेट्रान गोल्डकपले ठूलो सफलता हासिल गरेको थियो । उक्त प्रतियोगितामा समरानी स्टारले उपाधि जित्दा युनाइटेड फुटबल क्लब उपविजेता बनेको थियो ।
यस वर्षको प्रतियोगितालाई अझ भव्य र प्रभावकारी बनाउन आयोजकले व्यापक तयारी गरिरहेको छ । नेपाली खेलकुदप्रेमीहरूको उत्साहजनक सहभागिताले यो प्रतियोगिता नेपाली समुदायबीच खेलकुद र मित्रतालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।