२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

सामुदायिक वनको आम्दानीले गाउँ झिलिमिली

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष २५ गते २२:०२
सामुदायिक वनको आम्दानीले गाउँ झिलिमिली

अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ११, १२, १३ र १४ का विभिन्न ठाउँमा रहेका सामुदायिक वनहरुको आम्दानीले गाउँहरु झिलिमिली हुन थालेको छ । अहिले स्थानीय युवाहरुले रोजगारी समेत पाउन सुरु गरेका छन् । 

शीतगंगाको वडा नं. १३ भंगाला भन्ने ठाउँमा रहेको  गाउँमा सामुदायिक वनको आम्दानीबाट थुप्रै नमुना विकास निर्माणका कामहरू भएपछि स्थानीय उपभोक्ताहरु हर्षित मात्र नभइ त्यहाँका युवाहरु गाउँमै रोजगार पाउन थालेका छन् । शीतगंगा नगरपालिकाको विकट बस्ती भनेर चिनिने गैडे वनमा आश्रित ८ सय २३ घर परिवार रहेको सो गाउँमा धेरै विकास निर्माणका कामहरू सामुदायिक वनको आम्दानीबाट  सम्पन्न भएका छन् । यस्तै स्थानीय युवाहरु रोजगारीका लागि कुनै ठाउँ जानु पर्दैन । गाउमै भ्याइ नभ्याइ छ । 

शीतगंगा ११ मा रहेको सो गैडे भन्ने स्थानमा सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट गाउँमा पुग्ने मोटरबाटो, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट विस्तार, विद्युत् विस्तार, गाउँमा बाख्रा पालन, कुखुरा पालन, बंगुरपालन, वैदेशिक रोजगारीमा जानेहरुका लागि आर्थिक सहयोग गरेपछि गाउँका सबै उपभोक्ता रोजगारीमा व्यस्त रहेको गैडे सामुदायिक वनका अध्यक्ष जुद्दबहादुर सुनारले  मध्यान्हलाई जानकारी दिए ।

सो समुहले सडक निर्माण गर्ने तथा मर्मत गर्ने कार्यमा यस वर्ष मात्रै झन्डै २१ लाख रुपैयाँ खर्च गरेको अध्यक्ष  सुनारले बताए । गोरुसिंगे सन्धिखर्क सडकबाट भित्र पर्ने गैडे सामुदायिकमा जान सहज भएपछि अहिले त्यो बाटो धेरैले प्रयोग गरी काठ निकासी हुने गर्छ । गैडे सामुदायिकको पैसाले गाउँको भित्री सडक पनि निर्माण तथा मर्मत भएको सामुदायिक वनका सचिव दसिता बेल्वासेले बताइन् । 

सामुदायिक वनका अध्यक्ष सुनारले भने ‘यो वर्ष ३५ लाख र विगतका वर्षहरूमा गरी झन्डै ८० लाख रुपैयाँको लगानीमा  सिँचाइ योजना पूरा भएपछि अहिले त्यह(ाँका उपभोक्ताले तरकारी खेती गरेर दैनिक कपिलवस्तु लगेर बेचबिखन गर्ने गरेका छन् । जसबाट ६० बिघा खेतमा सिँचाइ सुविधा पुगेपछि अहिले खेती गर्न किसान उपभोक्ता कम्मर कसेर लागेका छन् ।’ शीतगंगाका धेरै वनले आम्दानी गरिरहेका छन् ।

यस्तै शीतगंगा १२ मा पनि डोहोटे सामुदायिक वनको आम्दानीले सिँचाइ, विद्युत्का काम बाख्रा वितरण हाते ट्याक्टर वितरण गर्नुको साथै बिउपल वितरण  गरेपछि मौसमी तथा बेमौसमी तरकारी उत्पादन बढेको सामुदायिक वनका  अध्यक्ष रेशम बन्जाडेले बताए ।  शीतगंगाका अधिकांश ठाउँमा  कपिलवस्तु जिल्लाबाट सामुदायिक वनको आम्दानीले गाउँमा बिजुली बत्ती बाल्न पाएपछि उपभोक्ताहरु झन् खुशी देखिन्छन् । 

विकट बस्तीमा सामुदायिक वनको आम्दानीबाट गाउँ अहिले झिलिमिली भएपछि उपभोक्ता हर्षित भएका हुन् । घरघरमा इन्टर नेट सुविधा पुगेको छ ।  गाउँमा रहेका साना तिना बाटाहरु निर्माण भएका छन् । विद्यालय भवन पनि बनेका छन् । गाउँमा विद्यालयका सानातिना काम गर्न विद्यालयमा निजी स्रोतबाट शिक्षक राख्नका लागि अहिले सरकारको मुख हेर्नुपर्ने अवस्था नभएको शीतगंगा १२ का स्थानीय मोहन बन्जाडेले बताए । 

शीतगंगा १३ मा रहेको धिरीखोला सामुदायिक वनले खानेपानी मर्मतमा वार्षिक ३० हजार रुपैयाँ खर्च गर्छ । गाउँमा भगवती मन्दिरमा ७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको धिरिखोला सामुदायिक वनका अध्यक्ष  नारायण पौडेलले अनुगमनमा गएको जिल्ला स्तरीय टिमलाई जानकारी गराए । गाउँमा चाहिने विकासका कामका लागि राज्यका कुनै सरकारको मुख ताक्नुपर्दैन । सामुदायिक वनहरू सक्षम भएको खण्डमा गर्न सकिन्छ भन्ने उदाहरण अर्घाखाँचीका सामुदायिक बनहरुले देखाएको डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले बताए ।

उपभोक्ताको आयआर्जन बढाउनका लागि तरकारी खेती गर्ने, गाईभैंसी पालन गर्ने, बाख्रापालन गर्ने, बुंगुरपालन गर्ने कृषकलाई वार्षिक ३ प्रतिशत ब्याजदरमा ऋण लगानी पनि सामुदायिक वनले गर्ने गरेको  वन अधिकृत चन्द्र भाटले अनुगमन टिमलाई जानकारी दिए ।

शीतगंगा १३ को धिरिखोलामा सामुदायिक वनको आम्दानीबाट ‘भैंसीपालनका लागि २० लाख बाख्रापालनका लागि १५  कुखुरापालनका लागि ५ र बंगुरपालनमा ३ जनाले वार्षिक ३ प्रतिशत ब्याजदरमा ऋण पाएका छन् ।’ भैंसीपालनका लागि वार्षिक ३ प्रतिशत ब्याजदरमा ७० हजार रुपैयाँ ऋण लिएको सामुदायिक वनका उपाध्यक्ष गोमा भुसालले  बताइन् ।

कृषि तथा पशुपालन गर्ने उपभोक्ताहरूको हितका लागि उनीहरूको मागका आधारमा हाते ट्याक्टर वितरण, घाँस काट्नको लागि चाप कटहर वितरण गरिएको छ ।  बिउको लागि बोका पनि वितरण गरिएको छ । रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकाहरू सात जना गाउँमा फर्किएर स्वरोजगारका काम गरिरहेका छन् । विदेशबाट फर्किएका दुई जनालाई अटो रिक्सा खरिदका लागि निव्याजी ऋण पनि प्रदान गरिएको छ । साउदी अरबबाट फर्किएका किशोर गुरुङ र भारतको दिल्लीमा रोजगारी गरेर फर्किएका दिलीप घमलाई ब्याज मिनाहा गरी ३ लाख रुपैयाँका दरले कर्जा  लिने गरेका छन् । त्यस्तै शीतगंगा नगरपालिका वडा नम्बर ११ को गैडे सामुदायिक वनका उपभोक्ताहरुको पनि दैनिकि फेरिएको सामुदायिक वनकी सचिव सीता बेल्वासेले दाबी गरिन् । 

सामुदायिक वनको  आम्दानीबाट स्थानीय सरकारले गर्न नसकेका कामहरु समेत उपभोक्ताहरुले आफै निर्माण गर्ने काम गरेको डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले  बताए । डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत उमेश शाह भन्छन्, ‘धेरै नमुना काम भएका छन् । वन कार्यालयले त्यसको अनुगमन निगरानी गर्ने गरेको छ । पुरस्कृत गर्ने गरी सामुदायिक वनले काम गरेका छन् ।’

जिल्लाबाट अनुगमनमा गएका जिल्ला समन्वय प्रमुख जीवनारायण कोईराला भन्छन्,‘सामुदायिक वन पनि एक प्रकारको सरकार नै रहेछन् । विकास निर्माणका काम पारदर्शी रुपमा गरेका सामुदायिक वनलाई सरकारले पुरस्कृत गर्नुपर्छ ।’ अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले सामुदायिक वनले गरेको काम देख्दा आफूलाई खुसी लागेको बताए । उनले भने, ‘अब स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise