काठमाडौं : एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकहरूलाई आकर्षक अनलिमिटेड नाइट डाटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
सो योजना अन्तर्गत सधैं अनका ३९९ बाट शुरु हुने बेस्ट र ७९९ बाट शुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डाटा लिन सक्नेछन् । ती प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरूले नाइट डेटा पनि पाउने जनाइएको छ ।
सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको बताएको छ । ३९९, ४९९, रु ५९९ का बेस्ट प्याक र ७९९, ९९९ र १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधा बाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको जानकारी दिएको छ ।
२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी सधैँ अनको अनलिमिटेड प्याकका ग्राहकहरूले ३० जीबीदेखि १०० जीबीसम्म डाटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् । एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना सञ्चालनमा ल्याएको थियो ।