काठमाडौं : प्रभु बैंकको सञ्चालकमा ६ सदस्य निर्वाचित भएका छन् । प्रभु बैंक लिमिटेडको सोमबार भएको २३औँ वार्षिक साधारण सभाले विभिन्न निर्णयहरू पारित गर्दै ६ जना सञ्चालक समेत निर्वाचित गरेको हो । संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र वृषबहादुर बस्नेत र सर्वसाधारण समूहतर्फ सुरजकुमार श्रेष्ठ, राजु पौडेल र किशोरजंग कार्की गरी ६ जना सञ्चालकहरू आगामी ४ वर्षको कार्यकालको लागि निर्वाचित भएका छन् ।
बैंकको सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाको अध्यक्षतामा बसेको बैठकले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको छ ।
साथै, प्रभु बैंकका सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको एकीकृत वित्तीय विवरणलाई पनि सभाले अनुमोदन गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मतबाट पारित भएका छन् ।