२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिँदै

Nada
२०८१ माघ २ गते १६:२५
Shares
आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिँदै

काठमाडौंः नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न तथा स्मार्ट बनाउने गरि स्थानान्तरण गर्ने तयारी गरेको छ। २०८४ वैशाख भित्र निर्माण सक्ने लक्ष्य लिइएको डीपोको कुल अनुमानित लागत साढे ३ अर्ब हुनेछ।

ncell

हाल घना बस्तीका बिचमा रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय असुरक्षित भएको र साँघुरो भएको भन्दै स्थानान्तरण गर्न लागिएको हो। हाल रहेको डीपो कुल १ बिगाहा ८ कट्ठा क्षेत्रफलमा रहेको छ। अब निर्माण हुने डीपोका लागि हाल २० बिगाहा १६ कट्ठा ८ धुर क्षेत्रफल जग्गा प्राप्त भएको छ।

आयल निगमको हवाइ इन्धन डीपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप यादवले सुदुरपश्चिमका नौ जिल्लाको मागलाई धान्ने गरेर नयाँ डीपो निर्माणका लागि जग्गा प्राप्त भइसकेको बताए । २०३७ सालमा स्थापना भएको डीपो जीर्ण भइसकेको र त्यसबेला दैनिक ४ ट्यांकर मात्र माग हुने अवस्थामा निर्माण भएकाले हालको माग सो डीपोले धान्न नसक्ने अवस्था रहेको तथा सुरक्षाका हिसाबबाट पनि असुरक्षित भएको बताए।

‘धनगढी डीपो २०३७ सालमा स्थापना भएको हो, त्यसबेला दैनिक ४ ट्यांकर इन्धनको माग धान्ने गरेर निर्माण भएको थियो, अहिले ९ जिल्लाको माग धान्न सक्ने अवस्थामा सो डीपो छैन, त्यसकारण स्थानान्तरण गरेर सुरक्षित र सुविधा सम्पन्न बनाइने गरेर तयारी अघि बढाइएको हो’, यादवले भने।

यादवले नयाँ बन्ने डीपो पुर्णरुपमा अटोमेसनमा आधारित र डीजीटल हुने बताए। २०८२ वैशाख पहिलो हप्ता डीपो निर्माणको शिलान्यास गरिने र नयाँ बन्ने डीपोको डीपीआर काठमाडौं विश्वविद्यालयले बनाउने उनले जानकारी दिए। काठमाडौं विश्वविद्यालयका इ. विवेक बरालले तोकिएकै समयमा काम सक्नेगरी आफुहरूले काम गर्ने बताए ।
 

ताजा खबर

सम्बन्धित खबर