२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

६ महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा आकर्षण

hardik ivf
मध्यान्ह
२०८१ माघ २ गते २०:४९
६ महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा आकर्षण

काठमाडौं : चालु आर्थिक वर्ष (आव)को ६ महिनामा नेपालको औद्योगिक क्षेत्रमा २० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको ६ महिनामा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रूपैयाँ बराबरको यस्तो प्रतिबद्धता आएको थियो ।

चालु आवको पहिलो ६महिनामा आएको वैदेशिक लगानीको प्रतिबद्धता अघिल्लो आवको सोही अवधिको तुलनामा भने घटेको देखिएको छ । विभागको तथ्यांकअनुसार अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको पहिलो ६ महिनामा १ अर्ब ५५ करोड ९१ लाख बढीले घटेको हो । संख्यात्मक रूपले भने अघिल्लो आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा उद्योग खोल्ने प्रतिबद्धताको संख्यामा वृद्धि भएको छ ।

पछिल्लो २ वर्षको तथ्यांकलाई हेर्दा नेपालको पर्यटन क्षेत्रमा वैदेशिक लगानीको आकर्षण राम्रो देखिएको छ । लगानी प्रतिबद्धताको विषयगत क्षेत्रलाई हेर्दा चालु आवमा नेपालको पर्यटन क्षेत्रमा १ सय ४५ वटा उद्योगमा १२ अर्ब ७६ करोड ५५ लाख रूपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । समीक्षा अवधिमा आएको कुल वैदेशिक लगानी प्रतिबद्धताको यो ६२ प्रतिशत हो । अघिल्लो आवमा सो क्षेत्रमा पर्यटन क्षेत्रमा यस्तो प्रतिबद्धता ३० प्रतिशत आएको थियो ।

त्यस्तै, नेपालको औद्योगिक क्षेत्रमा विदेशी लगानीकर्ताको दोस्रो आकर्षण सेवा क्षेत्रमा देखिएको छ । चालु आवको ६महिनामा नेपालको सेवा क्षेत्रमा कुल विदेशी लगानीको २३ प्रतिशत अर्थात् ४ अर्ब ८३ करोड १० लाख रूपैयाँ बढीको प्रतिबद्धता आएको छ । अघिल्लो आर्थिक वर्षमा सेवा क्षेत्रमा ३३ प्रतिशत लगानीको प्रतिबद्धता आएको थियो । तर, चालु आवमा संख्यात्मक हिसाबले भने विदेशी लगानीको दोस्रो आकर्षण सूचना प्रविधि क्षेत्रमा रहेको देखिएको छ । सो क्षेत्रमा समीक्षा अवधिमा १०६ वटा उद्योगमा लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै, चालु आवको समीक्षा अवधिमा म्यानुफ्याक्चर्स क्षेत्रमा २५ वटा, पूर्वाधारको क्षेत्रमा २ वटा र कृषि क्षेत्रमा ६ वटा उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

चालु आवको ६ महिनामा नेपालमा ३ वटा ठूला उद्योग, ४ वटा मध्यम स्तरका उद्योग र ३१२ वटा साना उद्योग सञ्चालन गर्ने नाममा विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो आवको समीक्षा अवधिमा यस्तो प्रतिबद्धता क्रमशः ३, १२ र २११ वटा आएको थियो । चालु आवको ६ महिनामा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता जनाउनेले ९ हजार २०६ जनालाई रोजगार दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise