काठमाडौं : चालु आर्थिक वर्षको मंसिर महिनाको तुलनामा पुस महिनामा नेपालमा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनाको तुलनामा पुसमा देशैभरी घरजग्गाको लिखत पारित संख्यामा ४ हजार ७७७ ले वृद्धि भएको हो ।
तथ्यांकअनुसार पुस महिनामा देशैभर ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित गरेर कारोबार भएको छ । जसबाट सरकारले १ अर्ब ६० करोड ८३ लाख २८ हजार पुँजीगत लाभकर प्राप्त गरेको छ । सो महिनामा भएको कुल घरजग्गा कारोबारमा सरकारले ४ अर्ब २५ करोड २२ लाख रूपैयाँ राजस्व आम्दानी गरेको छ ।
मंसिर महिनामा भएको घरजग्गाको लिखत पारितबाट सरकारले १ अर्ब ३१ करोड ६३ लाख पुँजीगत लाभकर आम्दानी गरेको थियो । साथै, सो महिनामा भएको कुल घरजग्गाको कारोबारबाट सरकारले ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो । घरजग्गा कारोबारमा वृद्धि हुँदा मंसिर महिनाको तुलनामा पुस महिनामा सरकारले ३८ करोड बढी राजस्व आम्दानी गरेको छ ।
तथ्यांकअनुसार पुस महिनामा सबैभन्दा धेरै घरजग्गाको कारोबार मोरङ जिल्लामा भएको छ भने सबैभन्दा कम मनाङ जिल्लामा भएको छ । समीक्षा महिनामा मोरङ जिल्लाका तीन वटा मालपोत कार्यालयबाट २९०४ वटा घरजग्गाको लिखत पारित कारोबार भएको छ भने मनाङ जिल्लामा जम्मा ३ वटा घरजग्गाको कारोबार भएको छ ।
सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा १ अर्ब ३४ करोड ६९ लाख, भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख, असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख रूपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।