२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लामो सांगीतिक संघर्षपछि उज्यालो देखेका गोविन्द मधुर

ADV
किस्ना आचार्य रोशनी
२०८१ असार १२ गते ०६:५५
लामो सांगीतिक संघर्षपछि उज्यालो देखेका गोविन्द मधुर

काठमाडौं : ‘एकदिन उज्यालो छाउला, मेरो पनि दिन आउला, म मरेको छैन, अझै म मरेको छैन’ । नेपाली सांगीतिक क्षेत्रमा करीब ६०० बढी गीतमा गायन, संगीत, एरेन्ज गर्दै दुई दशक बिताइसकेपछि नवगायकको परिचयले दंग पारिदिएका गायक तथा संगीतकार हुन् गोविन्द मधुर आचार्य ।

दाङको हेकुली २ एकलीमा जन्मिएका आचार्य करिब दुई दशकदेखि काठमाडौंलाई कर्मथलो बनाएर संघर्ष गरिरहेका थिए । सांगीतिक यात्रा र संघर्षले आफूले सोचेजस्तै उचाइ र सफलता नदिएको अनुभूति र अलिकति पारिवारिक कारणले उनी केही समयअघि काठमाडौंको बसाइलाई बिट मारेर आफ्नो जन्मस्थानतिर लागेका थिए ।

‘पहिले काठमाडौं आउनु र बाँकी पढाइ पूरा गर्दै गीतसंगीतप्रतिको आफ्नो चाहना पूरा गर्नु मेरो सपना थियो । इन्टरनेट र प्रविधिको जमानामा आफूसँग स्रोत साधन र कला भएपछि जहाँ बसेर पनि काम गर्न सकिन्छ भन्ने लागेर यो शहर छोडेको थिएँ, तर मलाई यत्तिका वर्षपछि सफलता र काठमाडौंले आफैं तानेर पुनः काठमाडौंमै ल्यायो,’ आचार्यले भने ।

गोविन्द मधुर आचार्य नेपाली सांगीतिक जगतका एक सशक्त प्रतिभा हुन् । सायद उनको अद्भूत क्षमताले गर्दा लोकगीत होस् वा आधुनिक उनको स्वर र लय जुन गीतमा पनि फिट हुन्छ ।  वि.सं. २०५९/६० सालतिर ‘कान्छीको रुमाल खस्यो पानीमा’ बोलको लोक दोहोरी गीतमा स्वर भरेर उनले आफ्नो सांगीतिक यात्रा शुरू गरेका थिए । यही गीतबाट केही सफलता र गायकको पहिचान प्राप्त गरेका गोविन्द दुई दशकदेखि अनवरत संगीत कर्ममा जुटिरहेका छन् ।

गीतकार लोकराज अधिकारीको शब्दमा अञ्जु पन्त र मनोजराजले गाएको ‘मर्छु बरु छटपटीमा तिम्रो सामु पर्दिन म’ गीतमा उनले भरेको संगीतले उनी संगीतकारको रुपमा झन् बढी चिनिएका थिए । आफ्नै शब्द, संगीत अनि स्वर रहेका उनका थुप्रै त्यस्ता गीत छन्, जुन लाखौं दर्शक स्रोताको मनको ढुकढुकी बनेका छन् । तीमध्ये ‘तिम्रो भइन भने’, ‘चोली फाट्यो कि मेरी आमाको’, ‘मलाई दुख्दा रुने त्यो मन’, ‘ओइलिएको फूल भयो’, ‘फूल भनुँ जिन्दगीलाई’, ‘जाउँला कान्छी जलजला’लगायतका गीतहरू अग्रपंक्तिमा छन् । सांगीतिक दुनियाँमा जीवनको लामो अनुभव हासिल गरेका गोविन्दले यसअघि जति गीतसंगीत सिर्जना गरेपनि, सफल भए पनि पछिल्लो समय रिलिज भएको ‘अझै म मरेको छैन’ गीतले गायकको रुपमा परिचय स्थापित गराउनुका साथै सफलताको भोक मेटाइदिएको अनुभव छ उनको । उनको आफ्नै स्वर र संगीत रहेको यो गीतले रिलिज हुने बित्तिकै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अनपेक्षित चर्चा पायो । 

उनले भने, ‘गीत रिलिज हुँदा म आफ्नै गृहजिल्लामा थिएँ । गीत युट्युब, टिकटकलगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा अत्यन्तै रुचाएर हेरिदिनुभएको थियो । चाडबाडको बेला गीत अधिक चल्यो भनेर काठमाडौं हिँडिहाल्न पनि सकेको थिइनँ । यसै क्रममा एक जना मिडियाकर्मी साथी मलाई खोज्दै मैकहाँ आइपुग्नुभयो । केही सांगीतिक कुराकानी खिचेर उहाँले आफ्नो युट्युबलगायतका सामाजिक सञ्जालमा राखिदिनुभयो । त्यो कुराकानी पनि धेरै दर्शक स्रोताले हेरिदिनुभो र प्रतिक्रिया दिन थाल्नुभयो, कमेन्टहरु हेर्थें, अहो यस्तो अद्भुत कला भएको मान्छेलाई काठमाडौं ल्याउनुपर्‍यो, गीत रेकर्डिङ गराइदिनुपर्‍यो, यस्तो स्वर भएका युवक भेटिएलगायतका कमेन्टहरु हेरेर म दंग थिएँ ।’

उनी अगाडि भन्छन्, ‘यसैबीच मेरा केही शुभचिन्तक, आफन्त र केही मिडियाकर्मीको समेत फोन आउन थाल्यो । गीत यति राम्रो चलेको छ मिडियामा आउनु पर्‍यो, काठमाडौं छोड्नु भएन भनेर । त्यसपछि म पुनः काठमाडौं आएँ र निरन्तर गीतसंगीतमै व्यस्त छु ।’

धेरै मिहिनेत र दुःखका बाबजुद तयार गरेर आफ्नो युट्युबमा राखेका योभन्दा पहिलेका गीतहरूमा त्यत्ति राम्रो भ्युज र दर्शक स्रोताको माया नपाएका आचार्यलाई यो गीतले राम्रो उचाइ दियो, मिडियाले आफैं खोज्न थाले, अग्रजहरुको स्याबासी र आशीर्वाद दिलायो । यही गीतका कारण उनका अरु पुराना गीतहरूले पनि थप भ्युज र चर्चा पाए ।

लोक, आधुनिक मात्रै नभएर उनको संगीत रहेका थुप्रै चलचित्रका गीतहरू समेत सांगीतिक बजारमा उपलब्ध छन् । त्यस्तै उनले सांगीतिक क्षेत्रमा अवसर दिएर स्थापित गरेका धैरै कलाकारहरू अहिले व्यस्त र सफल छन् ।

यति उपलब्धि पाइसकेको एउटा पाको कलाकारलाई नवगायकको नाम दिँदा कस्तो लाग्यो भन्ने प्रश्नमा उनी मुस्कुराउँदै भन्छन्, ‘रमाइलो नै लाग्यो, खुसी लाग्यो गोविन्द मधुर आचार्य को हो भन्ने थाहा नै नभएका धेरै नै दर्शक स्रोतासम्म अहिले बल्ल पुगेछु भन्ने महसुस गरें, जसले मलाई पहिलोपटक सुन्नुभयो, देख्नुभयो म उहाँका लागि नयाँ हुनु स्वभाविक हो, यसमा अनौठो लाग्नुपर्ने त केही पनि भएन नि ।’

घर परिवारको उनीप्रति सपना फरक थियो होला, तर गोविन्द आफ्नै रोजाइले यस क्षेत्रमा पाइला टेकेका थिए । संघर्ष गरेपछि सफल भइन्छ, धैर्य गरे फल पाइन्छ यी भनाइलाई आफ्नो जीवनमा लागू गरेर अगाडि बढिरहे । लामो संघर्ष गर्दागर्दै अपेक्षाकृत प्रतिफल हात नलाग्दा कहिलेकाहीँ गोविन्द स्वयं विचलित भए, तर आफ्नो परिवारबाट उनले कहिल्यै असहयोग महसुस गर्नु परेन । उनी भन्छन्, ‘सँगैका साथी कोही जागिर खाएर पेन्सन पाउने भए, व्यापार व्यवसाय गर्नेहरू र विदेशिएकाहरूले समेत घर घडेरी जोडे । परिवारलाई समयमै सुख सयल दिए, यो देखेर कहीँकतै जीवनमा निराशा आयो होला । तर परिवारको प्रेम र सहयोग अनि संगीतको शक्तिले विचलित नभइ अगाडि बढ्ने। केही गर्ने हिम्मत जुटायो ।’

उनी थप्छन्, ‘वर्षौंको मिहिनेत र परिश्रमले बल्ल सही ठाउँ पाउन थालेको छ सायद पहिला जस्तै अब काठमाडौंले निराश पारेर दाङ फर्काउँदैन भन्नेमा आफूले आफैंमाथि खुब भरोसा गरेको छु, अरु त भोलि के हुन्छ कसले जानेको छ र ।’

‘अझै म मरेको छैन’ गीत रिलिज गरेपछि उनलाई सांगीतिक कर्ममा भ्याइनभ्याइ जस्तै छ । पहिले संगीत मात्र भर्ने काम आउने उनलाई अहिले स्वर र संगीत दुबैको अफर आइरहेका छ्न् । ‘कुनै पनि कुरा प्राप्त गर्नुभन्दा ठूलो त्यसलाई कायम राख्न अझै चुनौतीपूर्ण हुने रहेछ भन्ने पनि यसपटकबाट महसुस गरेको छु । आफ्नो मिहिनेत र सिर्जनाले दर्शक स्रोतालाई निराश बनाउनु नपरोस् भन्ने प्रण छ । अब जिन्दगीमा जस्तोसुकै मोड आए पनि संगीतबाट टाढा हुन नपरोस् र संगीत क्षेत्रमा नै धेरै योगदान दिन पाइयोस्,’ उनी भन्छन्, ‘राज्यले पनि संस्कृति र कलामा समर्पित व्यक्तिहरुलाई आर्थिक र सामाजिक हिसाबले सम्मानित हुने नीति कार्यान्वयन गरोस् र हामीजस्ता प्रतिभालाई पलायन हुनबाट रोकोस् । अहिलेको चरम निराशाजनक परिस्थितिको अन्त्य होस् । आफूले रोजेको र रमाइलो लाग्ने क्षेत्र पनि यही हो अरु जानेको पनि छैन, त्यसैले यही क्षेत्रमा योगदान दिएर मर्न पाउँ ।’

राप्ती समाज काठमाडौंको उपाध्यक्षसमेत रहेर कार्यभार सम्हालेका आचार्य गीतकार संघ, रोयल्टी संघ, प्रस्तोता नेपाललगायतका संघसस्थामा आवद्ध र सक्रिय छन् । सांगीतिक क्षेत्रप्रतिको योगदान र मिहिनेतको कदरस्वरूप तेस्रो राप्ती म्युजिक अवार्ड २०७३ मा सर्वोत्कृष्ट चलचित्र संगीतकार, चौथो राष्ट्रिय साधना म्युजिक अवार्ड २०८० मा पब्लिक च्वाइस, तेस्रो नेशनल ब्रान्ड म्युजिक अवार्ड २०८० मा बेस्ट आधुनिक गीत गायक जुरी अवार्ड, दोस्रो राष्ट्रिय संगीत अवार्डमा सर्वोत्कृष्ट गायक आधुनिक अवार्ड, दोस्रो इन्टरनेशनल क्रिएटिभ म्युजिक अवार्ड २०२४ मोडर्न सिंगरलगायतका विविध अवार्ड तथा सम्मानबाट उनी विभूषित भइसकेका छन् ।

आगामी दिनमा अझ अब्बल गीतहरू रेकर्ड गर्ने र छिट्टै दर्शक स्रोतामाझ ल्याउने तयारीमा रहेका आचार्यको बाँकी सांगीतिक यात्राले अझै उचाइ र उडान भरोस् हाम्रो तर्फबाट शुभकामना ।

ADVADV

सम्बन्धित खबर

Advertise