२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बाढी,पहिरो र चट्याङबाट २४ घण्टाभित्र ११ जनाको मृत्यु

Nada
२०८१ असार १२ गते १५:२६
Shares
बाढी,पहिरो र चट्याङबाट २४ घण्टाभित्र ११ जनाको मृत्यु

काठमाडौं : गएरातिदेखिको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटना भएका छन् । बाढी, पहिरो र चट्याङबाट २४ घण्टाभित्र ११ जनाको मृत्यु भइसकेको छ  । 

ncell

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले ३ घर पुरिँदा बेपत्ता भएका ४ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ । 

यसैगरी ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पहिरोले पुरिँदा उनकी श्रीमती ३५ वर्षीया देव कुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको छ । 

कैलालीमा चट्याङबाट २ जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट मृत्यु भएको हो । डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भइ उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो भने चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै कपिलवस्तुमा पनि  चटयाङ लागेर २ जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो ।

देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षा भइरहेको ।  विभिन्न ठाउँहरु डुबानमा परेका छन् । सडकखण्डमा आएको पहिरोले सवारी आवत जावतमा समस्या परेको छ । 

ताजा खबर

सम्बन्धित खबर