अन्ततः अखिल (क्रान्तिकारी) को नेतृत्व चयन गर्न मतदान प्रक्रिया अवलम्बन गरियो । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयन गर्न मतदान प्रक्रिया अवलम्बन गर्नु आफैमा एउटा महत्वपूर्ण सन्देश हो । यद्यपि मतदानको निर्णयसम्म पुग्न अखिल (क्रान्तिकारी) ले लामै समय खर्चियो । गत असोजमा उद्घाटन भएको राष्ट्रिय सम्मेलन उमेर हदमा विवाद हुँदा लम्बिएको थियो । ३२ वर्षे उमेर हद लागु गर्ने अथवा खुला छोड्ने भन्नेमा लामै विवाद चलेपछि निर्णय लिन मतदानको विधि अपनाइएको थियो । झिनो अन्तरले उमेर हद लगाउने पक्षधरले जितेपछि त्यो विवाद सुल्झियो । विद्यार्थी राजनीतिमा उमेर हद लगाउने पक्षधरले जित्नु स्वभाविक, लोकतान्त्रिक र सन्देशयुक्त निर्णय थियो ।
किनकि मूलधारकै राजनीतिका निम्ति यो एउटा महत्वपूर्ण सन्देश थियो । जिवित रहेसम्म राजनीतिमा रहिरहने प्रवृत्तिले नेपाली राजनीति बद्नाम छ । विद्यार्थी राजनीतिमा लगाइने उमेर हदको प्रभाव अरूतिर पनि पर्दै जानेछ । त्यसैले अखिल (क्रान्तिकारी) ले उमेर हदबारे मतदानबाट निर्णय लिनुको विशेष अर्थ थियो । अझ नेतृत्व चयनमा पनि मतदानकै विधि अपनाइयो । अखिल (क्रान्तिकारी) मा नेतृत्व चयन गर्न यसअघि पनि मतदानको विधि अपनाइएको थियो । तर लगत्तै पार्टीले हस्तक्षेप गरेर नेतृत्व चयन गर्ने पुरानै शैलीतिर अखिल (क्रान्तिकारी) फर्काइयो । यसपटक भने उमेर हदसहित नेतृत्व चयन प्रतिनिधिहरुको मतबाट गरियो । यसले मूल पार्टी माओवादीलाई पनि मार्गदर्शन गरेको हुनुपर्छ ।
किनकि माओवादीलाई अझैपनि लोकतान्त्रिक शक्तिका रुपमा स्थापित हुन कठिन परिरहेको छ । सशस्त्र विद्रोशबाट आएको शक्ति भएकाले पनि माओवादीभित्रको लोकतान्त्रिक अभ्यासप्रति शंका गरिनु अस्वभाविक होइन । अझ यसको नेतृत्व चार दशक पुग्न लाग्दा समेत परिवर्तन नहुनुले माओवादीको लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न उठेको छ । जबकि झण्डै दुई दशकदेखि माओवादी शान्तिपूर्ण संसदीय राजनीतिमा सामेल छ । उसले संविधानको सर्वोच्चता स्वीकार्दै आएको छ । तर पार्टीभित्र लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने विधि तुलनात्मक कमजोर छ । त्यस्तो बेला विद्यार्थी संगठनबाट खुलेको गोरेटोमा माओवादीलाई हिड्न सजिलो पर्न सक्छ । त्यसैपनि विद्यार्थीहरू सचेत र समाजको अगुवा दस्ता हुन् । उनीहरुकै माध्यम भएर माओवादीभित्र लोकतान्त्रिक अभ्यास अगाडि बढ्दा त्यसको लाभ सिंगो मुलुकलाई पुग्नेछ ।