काठमाडौं : माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् ।
शनिबार काठमाडौंमा भएको निर्वाचनको नतिजा बुधबार सार्वजनिक भएको छ । मतगणनाको नतिजाअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट सापकोटाले प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पारेर अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
सापकोटालाई अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्ति बस्नेतको साथ थियो । सापकोटालाई पूर्वअध्यक्ष पञ्चा सिंह र हिमाल शर्मालगायतले पनि साथ दिएका थिए । उता राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका थिए ।
अध्यक्षमा सापकोटा निर्वाचित भएपनि उपमहासचिवमा संस्थापन इतर समूहले बर्चस्व कायम राखेको छ । बुधबार सकिएको महतगणनाअनुसार ९ उपमहासचिवमध्ये अधिकांश पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट भन्दा फरक व्यक्ति चुनिएका छन् ।
महासचिवसहित उपमहासचिवमा जनार्दन शर्मा समूहका ७ उम्मेदवार विजयी भएका हु्न । मतगणनामा हेमन्त राई पक्षका ७ जना उपमहासचिवमा विजयी भएका हुन् ।
महासचिवमा रोशन थापा १९१ मतान्तरले विजयी भएका छन् । निर्वाचित उपमहासचिवमा निर्मला गौतम, गजेन्द्र यादव, भगवान बास्तोला, रमेश अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट र जटिल कार्की छन् ।
उपमहासचिवमा संस्थापन पक्षका विपिन पोखरेल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहका निरज श्रेष्ठ विजयी भएका छन् ।
यस्तै भौगोलिक ७ प्रदेश र गैर भौगोलिक २ प्रदेश गरेर ९ प्रदेशबाट ९ जना उपमहासचिव मध्ये कोशी प्रदेशबाट विपिन पोखरेल ८३१, मधेश प्रदेशबाट गजेन्द्र यादव ४०७ मत, बागमतीबाट निर्मला गौतम ८०३, गण्डकी प्रदेशबाट भगवान बास्तोला ७६९ मत, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी ६२८ मत, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी ६०४ मत र सुदूपरिश्चम प्रदेशबाट रामचन्द्र भट्ट ३९९ मत सहित निर्वाचित निर्वाचित भएका छन् ।
त्यस्तै उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ ४०६ मत, विश्वविद्यालय प्रदेशबाट जटिल कार्की ६४८ निर्वाचित भएका छन् । उपत्यकाबाट निर्वाचित श्रेष्ठ पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट हुन भने अरु जनार्दन समूहका हुन् । यसअघि महासचिवमा पनि जनार्दन समूहका रोशन थापामगर तथा कोषाध्यक्षमा शर्मा प्यानलकै फूलमाया मगर निर्वाचित भएकी थिईन् ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र ३ केन्द्रीय निकायका पदाधिकारीका लागि शनिबार निर्वाचन भएको थियो ।
९ प्रदेशमध्ये ७ प्रदेशको मतगणना यसअघि नै भएको थियो । १० असोजदेखि १५ गतेसम्म भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेरहद लगाउने कि नलगाउने विषयमा विवादका कारण रोकिएको निर्वाचन ४ महिनापछि भएको हो । १३ पुसमा भएको उमेरहद खुला पक्षधर पराजित भएपछि ३२ वर्ष मुनिबाट आगामी २ वर्षका लागि संगठनको नेतृत्व हाँक्ने जिम्मेवारी सापकोटाको काँधमा आएको छ ।