चितवन : इच्छाकामना गाउँपालिकाले शहीद परिवारलाई नगदसहित सम्मान गरेको छ ।
शहीद दिवसका दिन बुधबार इच्छाकामना-२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका शहीदका परिवारलाई रु. पाँच हजार नगदसहित सम्मान गरेको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरेका हुन् । उनीहरूले शहीदहरूका कारण देशमा परिवर्तन सम्भव भएको बताए ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार रु. पाँच हजार प्रदान गरिएको बताउँदै उनले आगामी दिनमा शहीद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको जुगेडी काण्डका शहीद वडा नं २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै जनयुद्धका वडा नं २ का जीवन बुढाथोकी र वडा नं ३ का चन्द्रबहादुर गुरुङ (दीपेश)को परिवारलाई सम्मान गरेको हो ।