काठमाडौं : संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले शुक्रबारबाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको अस्वीकार गर्ने अडान कायम नै राखेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रिया हिसाबले पनि गलत भएका कारण सबै विपक्षी दलहरुले यसको अस्वीकार गर्ने सर्वसहमत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनले भने, ‘भोलिदेखि सुरु हुने संघीय संसदका अधिवेशन व्यवस्थितरुपमा जनताका सरोकारहरुलार्य उठाउने कुरामा एक मत भएको छ । खास गरेर अध्यादेशबारे सरकारले जसरी सदनमा ल्याएर सबै कानुन व्यस्थित बनाएर अगाडि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै आएर जसरी अध्यादेश ल्याएको छ । त्यो प्रक्रियाको हिसाबले पति गलत छ । त्यसैले सबै विपक्ष दलहरुले यसको अस्वीकार चाँही गर्नुपर्छ भन्ने सर्वसहमत निर्णय भएको छ ।’
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी थिए । यस्तै, बेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियारलगायतका नेताहरुको सहभागिता रहेको थियो ।