बझाङ : सार्वजनिक बिदाको दिन अनुमति नलिइ चलाइएका १३ वटा सरकारी सवारीसाधन कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका अनुसार सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनको दुरुपयोग बढ्दै गएकाले कारबाही गरिएको हो ।
सार्वजनिक बिदाको दिन कुनै पनि सरकारी गाडी चलाउनुपरेमा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य पास लिनुपर्ने कानुनी व्यवस्था छ । तर, अनुमतिविना नै सरकारी सवारीसाधन चलाएको भेटिएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले तीनै तहका सरकार, जनप्रतिनिधि र कर्मचारीको हकमा यो कानुन अनिवार्य रूपमा लागू हुने भएकाले यसको उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने बताए ।
‘सरकारी कामका लागि मात्र प्रयोग गर्नका लागि गाडी खरिद गरिएको हो । तर, व्यक्तिगत प्रयोजनका लागि तथा सार्वजनिक बिदाका दिन पनि ती गाडीको प्रयोग भइरहेको पाइएकाले निगरानी बढाइएको छ,’ प्रमुख विष्टले भने । ट्राफिक प्रहरीले बुधबार र बिहीबार गरी १३ वटा सरकारी सवारीसाधन कारबाहीमा परेको जनाएको छ ।