काठमाडौं : नेपालमा क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी छ । यसकारण यस्तो कारोबारमा संलग्न रहेको आरोपमा नेपाली र विदेशी नागरिक पक्राउ पर्ने गरेका छन् । पक्राउ परेकामाथि गैरकानुनी कारोबारमा संलग्न रहेको कसूरमा मुद्दा चल्छ । तर, यससम्बन्धी प्रष्ट कानुनी व्यवस्था नहुँदा समस्या भएको भनेर नेपाल कानुन आयोगले सरकारको ध्यानाकर्षण गरेको छ ।
कानुन आयोगले क्रिप्टोकरेन्सीबारे अध्ययन गरेको छ । अध्ययनपश्चात आयोगले कानुनी स्पष्टताका लागि आग्रह गरेको हो ।
‘नेपाल जस्तो वित्तीय साक्षरता कम भएको मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने र लगानी डुब्ने बढी सम्भावना रहन्छ’ अध्ययनमा भनिएको छ । अध्ययनको सुझाव खण्डमा अगाडि भनिएको छ, ‘यसकारण नेपालले क्रिप्टोकरेन्सीको कारोबार तथा व्यवसायको लागि छुट्टै नयाँ विवेकपूर्ण कानुन बनाउन आवश्यकता रहेको छ ।’
नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्ड कारोबारीहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । यसकारण पनि कानुनी प्रष्टता आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।
प्रहरीकाअनुसार नेपाली पैसा अवैधरूपमा विदेशिने र डिजिटल नेटवर्किङमा ठगिनेक्रम बढ्दो छ । शुक्रबार मात्रै क्रिप्टोकारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार पक्राउ परेका सात जनाको समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको छ । यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २६२ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको छ । अर्थात, क्रिप्टोकरेन्सी सम्बन्धी छुट्टै ऐन छैन । यसकारण छुट्टै ऐन नै बनाएर नियमन वा नियन्त्रण गर्न कानुन आयोगले सुझाएको हो ।
सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल एले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्याको क्रिप्टोकरेन्सीमा लगानी छ । अर्थात्, उक्त प्रतिवेदनअनुसार नेपालमा ४ लाख २३ हजार ८ सय ४० जना क्रिप्टो प्रयोगकर्ताहरू छन् । यो संख्या बढ्दो रहेको अनौपचारिक तथ्याङ्क छ । बढ्दो कारोबारलाई नियमन गर्न वा नियन्त्रण गर्न नयाँ कानुन नै आवश्यक रहेको कानुन आयोगको निष्कर्ष छ ।
कानुन आयोगले क्रिप्टोकरेन्सीलाई नियमन गर्नुपरेमा नेपाल राष्ट्र बैंकलाई प्रमुख जिम्मेवारी दिन सुझाएको छ । राष्ट्र बैंकले भने क्रिप्टोकरेन्सी कारोबार नगर्न बारम्बार आग्रह गर्दै आएको छ ।