काठमाडौं : काठमाडौंस्थित ठमेलमा ‘न्यानो वसन्त महोत्सव, चीनको तिब्बतको चर्चा’ कार्यक्रम सम्पन्न भएको छ । विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा तिब्बती संस्कृतिको चर्चा गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
चिनियाँ नयाँ वर्षको अवसरमा ‘चीनको तिब्बत पुस्तकालय’द्वारा आयोजित उक्त कार्यक्रममा तिब्बती संस्कृतिको अनौठोपन झल्किने गतिविधिहरू समावेश थिए ।
कार्यक्रमको उद्घाटन गर्दै वाङ मेङयाओले दुई राष्ट्रबीच आपसी समझदारी र मित्रता प्रवर्द्धन गर्न सांस्कृतिक आदान–प्रदानको महत्वलाई जोड दिइन् । कार्यक्रमको मुख्य आकर्षण नेपालका प्रसिद्ध लेखक गणेश कुमार जीसीद्वारा प्रस्तुत अरनिको (अनिगे)को रोचक कथा रह्यो ।
नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक संघका अध्यक्ष डा.हरिश्चन्द्र साहले अरनिको र राज कुमारी भृकुटीको बारेमा थप चर्चा गर्दै दुई देशबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई उजागर गरे ।
कार्यक्रमको अर्को प्रमुख आकर्षण नेपाली गायिका फु शेर्पाको सुमधुर प्रस्तुति रह्यो । उनले चिनियाँ शास्त्रीय गीत ‘अनन्त तारा’ (इटर्नल स्टार) गाएर दर्शकहरूको मन जितिन् ।
ल्हासाकी थांका कलाकार डेजीले तिब्बती संस्कृतिको अभिन्न अंग मानिने थांका चित्रकलाका जीवन्त रंग र गहिरो धार्मिक सम्बन्धबारे प्रष्ट पारिन् ।
कार्यक्रमको अन्तरक्रियात्मक सेसनमा दर्शकहरूले तिब्बती संस्कृति र चीन–नेपाल सांस्कृतिक सम्बन्धबारे खुला छलफल गरेका थिए । अरनिको र राजकुमारी भृकुटीसम्बन्धी प्रश्नोत्तरले कार्यक्रम रोमाञ्चक बनेको थियो ।
कार्यक्रममा तिब्बतका मनमोहक प्राकृतिक दृश्य, ऐतिहासिक स्थलहरू र सांस्कृतिक परम्पराहरूको चित्र प्रदर्शनी गरिएको थियो ।