बागलुङ : बागलुङ नगरपालिका-९ तित्याङ थापा थरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका थिए । गत वर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए । बि.स. २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका खत्री यति बेला यस क्षेत्रकै सफल किसानमा गनिन्छन् । उनले भने, “पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी आठ सय ८० ग्रामको काउली फलाउन सफल भए ।”
उनीले १८ रोपनी जग्गा तरकारी खेती गर्दै आएका छन् । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिल्यै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु. १० देखि १२ लाख आम्दानी गर्दै आएका छन् । अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताए ।
तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । खत्रीको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक र अन्य परम्परागत टनेल छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताए ।