दोहा कतार : नेपालमा वित्तीय सेवा व्यवसायको विकासमा अग्रणी वाणिज्य बैंकको परिचय बनाएको नबिल बैंकले कतारमा 'घर त नेपाल' शीर्षकमा मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ । कतारको राजधानी दोहामा अवस्थित होटल र्याडिसन ब्ल्युमा शुक्रबार राति सम्पन्न कार्यक्रमलाई बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगानाले विश्वको जुनसुकै कुनाबाट पनि नबिल बैंकसँग जोडिन सकिने बताए । उनले बैंकले सेवाग्राहीलाई दिने सेवा सुविधामा सम्झौता नगरिने बताए । ढुंगानाले परदेशमा गरिएको आम्दानीलाई सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) मा जम्मा गरी बचत तथा लगानी सँगसँगै गर्न आग्रह गरे । पैसाको स्रोत सुद्ध हुनुपर्ने धारणा राख्दै उनले कतारमा रहेका नेपालीहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको बताए ।
कार्यक्रममा प्रवासबाट लगानी र श्रमिकलाई उच्चतम सेवा सुविधा दिने बारेमा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले प्रतिनिधिका रूपमा आफ्ना सुझाव तथा धारणा राखेका थिए । भट्टले आईपीओमा जस्तै सहुलियत म्युच्युल फन्डमा पनि दिनुपर्ने आवश्यकता औंल्याए । श्रमिकले रेमिट्यान्समार्फत नेपालमा गरेको योगदानको कदर गर्न र प्रवासमा अध्ययन गर्न जान लागेका विद्यार्थीलाई पनि सहुलियतमा ऋण प्रवाह गर्न आग्रह गरे । कार्यक्रममा बैंकका विभिन्न तहका पदाधिकारीहरू तथा विभाग प्रमुखहरूले सम्बोधन गरेका थिए । नबिल इन्भेस्टमेन्ट, नबिल स्टक डिलर, एनबैंक, रेमिटेन्स प्रमुखलगायतले सम्बोधन गरेका थिए ।
उनीहरूले विदेशमा रहेका नेपालीहरूले आफ्नो मिहिनेत र लगनशीलताले आफ्नो जीवन मात्रै नभइ नेपालको अर्थतन्त्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएजसरी नै नबिल बैंक पनि सेवाग्राहीहरूको सहयोगी बैंकको रूपमा निरन्तर सेवा दिन प्रतिबद्ध रहेको बताए । नबिल बैंकका निक्षेप, कर्जा, डिजिटल सेवा र रेमिट्यान्स सुविधाहरूको बारेमा जानकारी गराउँदै नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडका उत्पादन तथा सेवाहरू पनि प्रस्तुत गरेका थिए । बैंकका बारेमा कतारमा रहेका आफ्ना प्रतिनिधि तथा बैंकका रिलेसनसिप म्यानेजर दीपेन्द्र पौडेलसँग समन्वय गर्न आग्रहसमेत वक्ताहरूले गरेका थिए । कतारमा रहेका नेपाली समुदायले नेपालको अर्थतन्त्रमा करिब १५ प्रतिशत रेमिटेन्स योगदान गरेको धारणा वक्ताहरूले राखेका थिए ।
कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सिंगो टिम लिएर कतार आएको बैंकका कार्यकारीहरूसहितका सबै पाहुनालाई स्वागत गर्दै बैंकिङ क्षेत्र र यसका आयामका बारेमा बुझाउन कतारलाई रोजेकोमा धन्यवाद ज्ञापन गरे । उनले वित्तीय क्षेत्रमा नबिलले खास स्थान लिएको धारणा राखे ।
कार्यक्रमको अन्तिममा युवामाझ लोकप्रिय हास्य कलाकार सुमन कार्की देखिए । उनले देशका वर्तमान समस्यालाई मात्र उजागर गरेनन् नेपाली लोक दोहोरी गीतमा भित्रिएको फोहोरीपनप्रति रोस्ट गरे । भाइरल रोगले ग्रस्त मनोरञ्जन क्षेत्रप्रति उनले कटाक्ष गर्दै आफ्ना आफन्त भनेको आम्दानी हुँदा मात्र जोडिने र आम्दानी नहुँदा टाढिने सन्देशमूलक प्रस्तुति दिए । बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईंले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई समीर उपाध्यायले सहजीकरण गरेका थिए ।