२०८१ माघ २१ गते सोमवार / Feb 03 , 2025 , Monday
२०८१ माघ २१ गते सोमवार
Ads

दोस्रो तुलसीपुर महोत्सव हुँदै

hardik ivf
सरु भुसाल
२०८१ माघ २० गते २३:०९
दोस्रो तुलसीपुर महोत्सव हुँदै

भालुवाङ : दाङको तुलसीपुरमा महोत्सव हुने भएको छ ।  तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा आगामी फागुन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो ।  

चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन  प्रवद्र्धन  र कला संस्कृति संरक्षणका लागि फागुन १ गते देखि १६ गतेसम्म महोत्सव संचालन गर्ने जानकारी गराएको हो ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले चेम्बरको आफ्नै भवन निर्माणार्थ आगामी फागुनमा महोत्सव लगाउन लागिएको बताए । महोत्सव तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा संचालन हुन लागेको हो ।

स्थानीय वस्तुको बजारीकरण, पर्यटकीयस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गर्न लागिएको उनले  बताए । 

अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रदर्शनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तीय सूचना प्रविधिको प्रदर्शनी हुनेछ । 

यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचार–प्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बालउद्यान रहने आयोजकले जनाएको छ । 

महोत्सवमा प्रवेशका लागि १०० रुपैँयाको टिकट लाग्ने छ भने ७० वर्ष माथिका जेष्ठ नागरिकले निःशुल्क प्रवेश पाउने र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । चेम्बरले तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाएर महोत्सव संचालनको अनुमति लिएको हो । महोत्सवमा स्थानीय व्यवसायीलाई २० प्रतिशत छुटमा स्टल प्रदान गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले महोत्सव संचालन अनुमतिका लागि लिने राजश्वमा आगामी दिनमा कमी गराउन नहुने अध्यक्ष भण्डारीले बताए ।

वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव दुर्गाप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा पूर्वअध्यक्ष टोपबहादुर घर्ती लगायतकाले धारणा राखेका थिए ।
 

ADVenergy

सम्बन्धित खबर

Advertise