२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’

Nada
२०८१ माघ २३ गते १३:५२
Shares
पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’

नेपालगञ्जः बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जबाट सुरु हुन लागेको साइक्लिङ कार्यक्रमको सबै तयारी पूरा भएको छ । ‘टुर दि ठाकुरद्वारा’ नाम दिइएको नेपालगञ्ज साइक्लिङ फेस्टिभलका लागि झापा, धरान, बुटवल, भैरहवा, दाङ, चितवन, काठमाडौं, ललितपुर भक्तपुर, पाल्पा विराटनगरलगायतका भारतका विभिन्न सहर, जापान र कोरियाबाट साइक्लिङ कार्यक्रममा १९६ जना सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । 

ncell

आगन्तु पाहुनाका लागि आवास र खानाको लागि सबै प्रबन्ध गरिएको जानकारी दिँदै उनले बाँके र बर्दियाका सबै पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै उनीहरुलाई ती स्थानको जानकारी दिइने बताए । सातौँ संस्करणको रुपमा यही माघ २४ देखि २६ गतेसम्म सो कार्यक्रम हुने छ । 

अध्यक्ष सापकोटाले बाँकेमा पनि पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेकाले ‘टुर दि बाँके राष्ट्रिय निकुञ्ज’ सुरु गर्न खोजे पनि पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकास नभएकाले करिब तीन सय जनालाई त्यस आसपास क्षेत्रमा आवास नभएकाले व्यवस्थापन गर्न अप्ठेरो परेको बताए । उनले नेपालगञ्जमा रहेका धार्मिक सर्किटलाई जोड्दै बाबा बरर्फानी, सन्तानेश्वर मन्दिर, गोवर्द्धन धाम, सिक्टा ब्यारेज, बाँके राष्ट्रिय निकुञ्जसहित गाभर भ्यालीलगायतका पर्यटकीय गन्तव्यलाई जोड्न कार्यक्रम बनाएर योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए । 

‘टुर दि ठाकुराद्वारा अहिले सबैले चिन्ने छुट्टै ब्रान्ड भएको छ’, उनले भने । यसले नेपालभरका साइकल इभेन्टलाई नेतृत्व दिएको उल्लेख गर्दै उनले नेपाल र भारतसहित विदेशसम्म ख्याति कमाएको यो कार्यक्रमलाई ‘टुर दि फ्रान्स’ बनाउने महत्वाकाङ्क्षा रहेको बताए । 

नेपालगञ्ज आएलगत्तै सबै पाहुनाका लागि खाना र आवासको प्रबन्ध भएको जानकारी दिँदै अध्यक्ष सापकोटाले माघ २६ गतेसम्म बर्दियाको ठाकुरद्वारामा आवासको व्यवस्थापन भएको बताए । यहाँका सुविधा सम्पन्न रिर्सोटमा पाहुनाका लागि आवासको व्यवस्थापन गरिएको छ । यस कार्यक्रममा सहभागी हुन नेपालीका लागि रु तीन हजार पाँच सय र विदेशीका लागि फरक दर्ता शुल्क तय भएको आयोजकले जनाएको छ । यस कार्यक्रममा कूल रु २५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । 

माघ २४ गते बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरबाट झाँकीसहित पैदलमार्च हुने र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रमको उद्घाटन गर्ने जनाइएको छ । कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीयस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै ठाकुरद्वारा मन्दिर हुँदै ठाकुरद्वारा पुर्‍याउने कार्यक्रम रहेको छ । 

ताजा खबर

सम्बन्धित खबर