अर्घाखाँची : अर्घाखाँचीमा वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा भन्दै संरक्षणका लागि विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्नका लागि माघ २५ देखि विशेष कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
मल्लका अनुसार प्रहरीले अहिले सबै ठाउँमा इलाका प्रहरी र चौकी प्रहरी गरी २५ वटा प्रहरी यूनियनबाट जनताका घर नजिक रहेका जलनसिल पदार्थहरु पात पतिङ्गर हटाउने, सल्लोबाट झरेको पिरल हटाउने, अग्नी रेखा कोर्ने, घर नजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने÷गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायत काम स्थानीय जनताको सहयोगमा प्रहरीले गाउँगाउँमा सुरु गरेको छ ।
यता डिभिजन वन कार्यालय अर्घाखाँचीले पनि सामुदायिक वनका पदाधिकारी उपभोक्ता वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै वन डढेलो नियन्त्रणमा तदारुकता देखाउँदै वनका सबै निकाए परिचालन गरिएको सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले बताए । वनमा डढेलो लाग्न नदिन सबै नागरिलाई सचेत हुन डिभिजन वन कार्यालय अर्घाखाँचीले विभिन्न सञ्चार माध्यम तथा अन्तरक्रिया छलफल गरी आग्रह गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन प्रसाद श्रेष्ठले अर्घाखाँची जिल्लाको अधिकांश ठाउँमा सामुदायिक वन तथा निजी आवादी वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक र सुरक्षा अपनाउन आग्रह गरे । वन डढेलो जोखिम उच्च जिल्लामध्ये अर्घाखाँची रहेकोले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको प्रमुख श्रेष्ठले बताए । जिल्लामा ६० प्रतिशत भू–भाग वनजंगलले ढाकेको छ ।
अर्घाखाँचीमा नागरिक सचेत नभएको कारणले गर्दा बढी वन डढेलो हुने गरेको तथ्यांकमा देखिएको छ । मानवीय कारणले ८० प्रतिशत, प्राकृतिक कारणले १० प्रतिशत तथा १० प्रतिशत वन डढेलोका कारण नागरिकलाई थाहा नभएको कारण लाग्ने गरेको श्रेष्ठले बताए ।
डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गरिनेछ ।
जिल्लाभर आगलागीका घटना न्यूनीकरणका लागि तीन वटा संयन्त्र निर्माण गरिएको छ । आगलागीका घटना रोकथाम र न्यूनीकरणका लागि जिल्ला विपद् समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा सुरक्षा निकाय परिचालन र निर्देशन, समिति सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठको नेतृत्वमा वन समुह परिचालन, वनका कर्मचारी परिचालन, श्रोत साधन परिचालन र स्थानीय तहबाट श्रोत साधन परिचालन रिपोटर्टिङ एवं समन्वय समिति गठन गरी परिचालन गरिएको छ ।
अर्घाखाँचीमा ४ सय ४६ वटा सामुदायिक वनहरुबाट आगलागी नियन्त्रण गर्ने कार्ययोजना र बढी डढेलो जोखिममा रहेका १६ क्षेत्रमा विशेष कार्ययोजना बनाएर परिचालन गरिएको सिनियर डिभिजन वन अधिकृत श्रेष्ठको भनाइ छ । अर्घाखाँची जिल्लामा डढेलोले गत वर्ष निकै ठूलो धनजनको क्षति पुर्याएपछि अर्घाखाँचीमा यस वर्ष नियन्त्रणका लागि सबै क्षेत्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।