–सी. बी. बस्याल
नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि वैदेशिक रोजगारी एउटा महत्त्वपूर्ण आर्थिक आधार बनेको छ । दशकौंदेखि लाखौं नेपाली युवा आफ्नै मातृभूमिमा अवसर नपाएर विदेशिन बाध्य भएका छन् । उनीहरूको पसिनाले बगाएको कमाइ (रेमिट्यान्स) नेपाली अर्थतन्त्रको मेरुदण्ड बनेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २०–२५ प्रतिशत हिस्सा रेमिट्यान्सबाट प्राप्त भइरहेको छ, जसले देशको विदेशी मुद्राको सञ्चिति बढाएको छ ।
तर, के नेपाल दिगो आर्थिक समृद्धिका लागि केवल वैदेशिक रोजगारीमा निर्भर रहन सक्छ ? युवाहरू बिदेसिनुमा मुख्य कारण रोजगारीको अवसरको अभाव, न्यून पारिश्रमिक तथा अस्थिर आर्थिक नीति हो । तर, केवल रेमिट्यान्सले समृद्धि ल्याउन सम्भव छैन । बिदेसिएका लाखौं नेपालीहरू न्यून पारिश्रमिक पाउने जोखिमयुक्त मजदुरीका काममा संलग्न छन्, जसले उनीहरूको व्यक्तिगत उन्नति मात्र होइन, नेपालकै भविष्यलाई अन्योलग्रस्त बनाएको छ ।
यदि हामीले दीर्घकालीन समृद्धि हासिल गर्न चाहन्छौं भने वैदेशिक रोजगारीलाई कुशल व्यवस्थापन गर्दै स्वदेशमै अवसर सिर्जना गर्न जरुरी छ । यसका लागि सीपयुक्त जनशक्ति विकास, रोजगारीको सिर्जना तथा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरूको अनुभव र पुँजीलाई देशको आर्थिक विकासमा समाहित गर्नुपर्छ । समृद्धिको सही कल्पना भनेको वैदेशिक रोजगारीलाई बाध्यता होइन, अवसरका रूपमा रूपान्तरण गर्नु हो ।
वर्तमान अवस्था
नेपालबाट विशेषगरी खाडी मुलुक (साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन), मलेसिया, दक्षिण कोरिया, जापान र युरोप–अमेरिकातर्फ लाखौं नेपाली कामदार विदेश गएका छन् । यसले तत्कालका लागि जीडीपीमा ठूलो योगदान गरेको देखिए पनि यसले दीर्घकालका लागि भने प्रश्न उठाएको छ । के यो निर्भरता दीर्घकालीन रूपमा अस्थिर हुन सक्छ त ? उदाहरणका लागि, विश्वव्यापी आर्थिक मन्दी, तेल बजारमा आएको उतारचढाव वा राजनीतिक अस्थिरताका कारण नेपाली कामदारहरूको रोजगारीमा प्रत्यक्ष प्रभाव पर्ने खतरा रहन्छ ।
मुख्य समस्याहरू
वैदेशिक रोजगारीलाई अवसरको रूपमा लिइरहँदा त्यहाँभित्रका समस्यालाई केलाउनु निकै आवश्यक देखिन्छ । श्रमिकहरू कहाँ कसरी ठगिएका छन् र देशले कति प्राप्त गरेको छ भन्ने केलाउन आवश्यक छ ।
आज श्रमिकहरू न्यून पारिश्रमिक पाउने र असुरक्षित वातावरणमा काम गर्न बाध्य छन् । धेरै नेपालीहरू बिनासीप विदेश जाने भएकाले न्यून आय भएका मजदुरीका काम गर्न बाध्य हुन्छन् । लामो समयसम्म टाढा रहनुपरेकाले परिवारमा मानसिक तनाव, सम्बन्धविच्छेद र सामाजिक विकृति बढ्न सक्छ ।
विदेशबाट फर्केका धेरै नेपालीहरूले कमाइको प्रभावकारी सदुपयोग गर्न नसकेर पुनः विदेश जानुपर्ने स्थिति सिर्जना हुन्छ । उल्लेखित समस्याहरूलाई नजरअन्दाज गरेर अगाडि बढ्न सकिन्नँ ।
सम्भावना
वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीलाई दिगो विकाससँग जोड्न सकिएमा मुलुकले ठूलो उपलब्धि पनि प्राप्त गर्न सक्छ । यो तत्कालका निम्ति ठूलो राहत पनि हो, जसका निम्ति केही काम गर्न आवश्यक छ ।
विदेश जाने श्रमिकहरूलाई साधारण मजदुरीमा सीमित राख्नुभन्दा उनीहरूलाई उच्च सीपयुक्त बनाउने रणनीति आवश्यक छ । निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिई दक्ष श्रमिक उत्पादन गर्नु । अन्तर्राष्ट्रिय स्तरमा माग भएका सीपहरू (जस्तै : स्वास्थ्य सेवा, सूचना प्रविधि, इन्जिनियरिङ, निर्माण प्रविधि) प्रदान गर्न विशेष कार्यक्रम संचालन गर्नु । सरकारी तथा निजी साझेदारीमा प्रवासपूर्व तालिम अनिवार्य बनाउनु । दक्ष श्रमिकहरूले उच्च पारिश्रमिक पाउने भएकाले रेमिट्यान्सको परिमाण मात्र होइन, गुणस्तर पनि वृद्धि हुन्छ ।
यदि नेपालमै पर्याप्त रोजगारीका अवसर भए धेरै नेपालीहरू विदेश जान बाध्य हुने थिएनन् । अहिले वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीलाई त्यतातर्फ खर्च गर्नु आवश्यक देखिन्छ ।
नेपालमा के गर्न सकिन्छ ?
वैदेशिक रोजगारी तत्कालका निम्ति राहत हो भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ । देशलाई समृद्धितर्फ लैजाने हो भने हाम्रै स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नेगरी खाका बनाउन आवश्यक छ, जसका निम्ति क्रमबद्ध योजनामा काम गर्नुपर्छ ।
नेपाल कृषिप्रधान देश भए तापनि परम्परागत खेती प्रविधिले युवाहरूलाई आकर्षित गर्न सकेको छैन । यदि सरकारले प्रविधियुक्त कृषि, व्यावसायिक पशुपालन र खाद्य प्रशोधन उद्योगहरूमा लगानी बढायो भने युवा श्रम शक्ति नेपालमै रोक्न सकिन्छ ।
यसैगरी नेपालमा लघु, घरेलु, तथा ठूला उद्योगहरूको अभाव छ । लगानीमैत्री नीति ल्याई प्रशोधन उद्योग, उत्पादनमूलक उद्योग तथा प्रविधिमा आधारित स्टार्टअपहरूलाई प्रवद्र्धन गर्न सकिन्छ ।
पर्यटन नेपालको प्रमुख आम्दानी स्रोतमध्ये एक हो । यदि पूर्वाधार विकास, प्रचारप्रसार, तथा प्रविधिको उचित उपयोग गरियो भने पर्यटन क्षेत्रमा व्यापक रोजगारी सिर्जना गर्न सकिन्छ ।
सँगै, प्रवासी नेपालीहरूबाट आर्जित पुँजीलाई स्वदेशमै प्रभावकारी लगानी गर्न आवश्यक छ, जसका निम्ति प्रवासी नेपालीहरूका लागि विशेष लगानी कोष स्थापना गरी उद्योग, व्यापार तथा पूर्वाधार विकासमा लगानी गर्न प्रेरित गर्ने, विदेशबाट फर्केका कामदारहरूलाई व्यावसायिक मार्गदर्शन, उद्यमशीलता तालिम तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, प्रवासी नेपालीहरूको सीप, अनुभव तथा प्रविधिलाई नेपालमा स्थानान्तरण गर्न विशेष कार्यक्रम संचालन गर्नुपर्छ ।
यसबाट नेपालमा लगानी प्रवाह बढ्ने मात्र होइन, वैदेशिक रोजगारीको चक्रलाई तोडेर आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख हुन सकिन्छ ।
विदेशमा कार्यरत नेपालीहरूलाई सामाजिक सुरक्षाका कार्यक्रमले सुरक्षित बनाउन सकिन्छ । प्रत्येक वैदेशिक कामदारका लागि अनिवार्य बीमा योजना लागू गर्ने, संकटमा परेका श्रमिकहरूलाई उद्धार, कानुनी सहायता तथा राहत कोष स्थापना गर्ने, विदेशबाट फर्किएका श्रमिकहरूलाई पुनस्र्थापनाका लागि विशेष कार्यक्रम संचालन गर्ने कार्यक्रम संचालन गर्नुपर्छ । यसले नेपाली श्रमिकहरूलाई सुरक्षित वातावरण प्रदान गर्ने र उनीहरूका परिवारलाई आर्थिक स्थिरता दिलाउने छ ।
निष्कर्ष
नेपालले वैदेशिक रोजगारीलाई अवसरका रूपमा प्रयोग गर्दै, दीर्घकालीन आर्थिक योजना बनाउन जरुरी छ । केवल रेमिट्यान्समा निर्भर भएर समृद्ध नेपाल निर्माण सम्भव छैन । यसका लागि निम्ति केही योजनाहरू क्रमबद्ध रूपमा अघि सार्नुपर्छ ।
श्रम बजार सुधार गर्दै उच्च सीपयुक्त जनशक्ति उत्पादन गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्दै युवाहरूलाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने, प्रवासी नेपालीहरूको पुँजी र सीपलाई स्वदेशमा प्रभावकारी रूपमा लगानी गराउने योजना बनाउने, वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूलाई पुनस्र्थापनाका लागि विशेष कार्यक्रम ल्याउने, नेपालको कृषि, पर्यटन, तथा औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्दै दिगो आर्थिक आधार निर्माण गर्नेजस्ता कार्यक्रम बनाउनुपर्छ ।
वैदेशिक रोजगारीको बाध्यता घटाउने एक मात्र उपाय भनेको नेपालमै पर्याप्त रोजगारीको अवसर सिर्जना गर्नु हो । आजका नेपाली युवाहरू विदेश जान बाध्य छन् तर भोलिका पुस्ताहरू नेपालमै आत्मनिर्भर बन्न सकून् भन्ने सुनिश्चित गर्नुपर्छ ।
समृद्ध नेपालको सपना तब मात्र पूरा हुन्छ, जब नेपाल आफ्नै स्रोत साधनको सही उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सफल हुन्छ । वैदेशिक रोजगारीलाई छोटो अवधिको आर्थिक सम्बलका रूपमा हेर्नुपर्छ तर दीर्घकालीन दृष्टिकोण भने स्वदेशमै अवसर सिर्जना गर्ने दिशामा केन्द्रित हुनुपर्छ ।
समृद्ध नेपाल अब केवल कल्पना होइन, सही नीति, योजनाहरू र प्रतिबद्धताका साथ त्यसलाई वास्तविकतामा बदल्न सकिन्छ ।