
उदयपुर : लगातार तीन दिनदेखिको अविरल वर्षाले उदयपुर जिल्लामा करिब १० प्रतिशत धानबालीमा क्षति पुगेको छ । त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिका लगायतका अधिकांश वडाका कृषकहरू प्रभावित भएका छन् ।
कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र प्रसाद यादवका अनुसार आकस्मिक वर्षाका कारण काटेर झार्न राखिएका तथा पाकेर काट्न तयार भएका धान लडेर नष्ट भएका हुन् ।
उनका अनुसार जिल्लामा १३ हजार ३ सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष १२ हजार ९ सय २५ हेक्टरमा धान रोपाइँ गरिएको छ, जसले कुल खेतीयोग्य जमिनको ९६.६ प्रतिशत ओगटेको छ । गत वर्ष प्रतिहेक्टर ४.५ मेट्रिक टनका दरले ५७ हजार ५ सय ७३ मेट्रिक टन धान उत्पादन भएको थियो ।
चौदण्डीगढी नगरपालिका–१ का कृषक सोवित खनाले भने २४ कठ्ठामा लगाएको आफ्नो धानबाली वर्षाले पूर्णरूपमा नष्ट गरेको बताए । कृषि ज्ञान केन्द्रले प्रभावित किसानहरूको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।