२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

स्थानीय सरकार युवामैत्री बन्न नसकेको गुनासो

Nada
२०८१ जेठ २१ गते १६:०५
Shares
स्थानीय सरकार युवामैत्री बन्न नसकेको गुनासो

सन्तोष पौडेल/मध्यान्ह

ncell

बर्दिया : बर्दियामा आयोजित एक कार्यशालाका सहभागी युवाहरुले लोकतन्त्रको स्थापना भएको १८ वर्ष पुग्दासमेत स्थानीय सरकार अझै पनि युवामैत्री बन्न नसकेको गुनासो गरेका छन् । उनीहरुले स्थानीय तहको योजना निर्माण प्रक्रियामा युवाहरुलाई सहभागी नगराइएकोमा चिन्तासमेत व्यक्त गरे ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत राधाकृष्ण थारु जनसेवा केन्द्र, बर्दियाको आयोजनामा बर्दियाको गेरुवा गाउँपालिकामा आयोजित युवा सहभागिता कार्यढाँचा निर्माणको पहलका लागि स्थानीय सरकारसँगको एकदिने कार्यशालामा उनीहरुले यस्तो गुनासो र चिन्ता व्यक्त गरेका हुन् । 

कार्यशालामा बोल्दै विकासप्रेमी युवा समूह गेरुवाकी सचिव लंकेश्वरी खत्रीले युवाहरुलाई देश विकास, समृद्धि तथा प्रगतिका संवाहक मानिए पनि व्यवहारमा त्यस्तो नभएको बताइन् । उनले भनिन् ‘युवालाई स्थानीय तहदेखि नै शासन प्रणालीमा जोड्दै, उनीहरूको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा स्थानीय तहको विकासमा नयाँ आयाम थप्न सकिन्छ । यसतर्फ सबैको ध्यान जानु आवश्यक छ,’ उनले भनिन् । 

कविला युवा क्लबका सचिव सञ्जय चौधरीले युवासँग सम्बन्धित क्षेत्रगत विषयवस्तु जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, सीप तथा क्षमता अभिवृद्धि, गोपनियता, लैङ्गिक समानता लगायतको योजना निर्माण, बजेट विनियोजन, कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरे । 

यता गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीले युवालाई प्राथमिकतामा राखेर नै गाउँपालिकाले काम गरिरहेको दाबी गरे । ‘युवाहरूलाई रोजगारीमुलक सीप तथा प्राविधिक सहयोग दिएर स्थानीयस्तरमा नै स्वरोजगार बनाउने प्रयासमा गाउँपालिका लागिरहेको छ,’ उनले भने ।

नीतिगत समस्याका कारण पालिकाको योजना तर्जुमामा युवाहरुलाई संरचनात्मकरुपमा सहभागी गराउन समस्या भएको बताउँदै अध्यक्ष केसीले बस्तीस्तरको योजना छनोटमा युवाहरुलाई सक्रियपुर्वक लाग्न आग्रह गरे  । उनले भने, ‘युवाहरुसँग हातेमालो गर्न, सहकार्य गर्न गाउँपालिका तयार छ ।’  

स्थानीय तहको योजना निर्माण प्रक्रियामा विकासको आधारशीलाको रूपमा रहेका युवाको अर्थपूर्ण सहभागिता बढाउँदै स्थानीय तहको आवश्यकता र प्राथमिकताको आधारमा युवासँगको सहकार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको थियो ।

सहजकर्ता कृष्ण पाण्डेले सहजीकरण गरेको कार्यशालामा गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द, ६ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रतिनिधिमुलकरुपमा गेरुवा गाउँपालिकाका विभिन्न क्लब तथा सञ्जालका युवाहरुलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर