
रुखो चट्टानहरूले जब हिउँको सेतो बर्को ओढेर
मनमोहक हिमशृङ्खला बन्छ
फिक्का हावाहरू जब बगानको गल्लीबाट गुज्रिएर
अत्तर सोरेर वातावरण सुगन्धित बनाउँछ
नीलिमा आकाशको कागजमा
आवारा बादलले चित्र बनाएर मोहित पार्छ
त्यसरी नै तिमीसँग मिसिएपछि
जीवन मिस्री बन्छ
तसर्थ मलाई तिमी चाहिन्छ ।
सिपालु गोठालेको ओठमा बाँस बाँशुरी बन्छ
उराठ पहाडको छातीमा पानी झरना बन्छ
प्रभातको अनाथ शितहरू भाष्करको अंकमालमा
मोती बन्छ
एक्लो लाकुरी भञ्ज्याङको रूखमा चरीले घर पाउँछ
तिम्रो सत्संगमा जस्तो आनन्द अन्त कहाँ पाइन्छ ?
तसर्थ मलाई तिमी चाहिन्छ ।
झरी परेको दिनमा भेलमा केटाकेटीले बगाएको डुङ्गा जस्तै खुसी हौ तिमी
बसन्तमा तक्लु वृक्षले पालुवा कुर्ने जस्तै प्रतीक्षा हौ तिमी
तिमी माटो हौ, बिजमा वृक्ष
फलमा रस
अनाजमा स्वाद भर्ने
हुस्सु लागेको उदास दिनमा कागती चिया र मकै भटमास हौ तिमी
बतासे डाँडामा नारायण गोपालको गीत सुनाउने दुस्साहस गर्दा
प्रफुल्ल भएर सुनिदिने
तिमी उर्जा हौं
मेरो हृदय बेलाबेलामा
पितृसत्तात्मक रोगले बिरामी पर्छ
त्यतिबेला म बन्न चाहन्छु स्त्री
मलाई स्त्रीत्वको गुण उपहारमा प्रदान गर्न–
तिमी चाहिन्छ ।
– तानसेन, पाल्पा