२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

परदेशी तिहार

Nada
२०८३ कार्तिक २३ गते ०८:५२
Shares
परदेशी तिहार

घर-आँगन वरिपरि
फूलहरु फुल्न थालेपछि 
सँगै फूल्छ्न् मनहरु पनि
फूलहरु त
यता पनि फूल्छन् उताजस्तै
तर, मनहरु फुल्दैनन् उताजस्तो  
आँगनको डिलमा सयपत्री फुलेपछि
लाग्छ, ऋतुले पहेँलो पछ्यौरी ओढेर
मखमलीका लहरामा
पुराना सम्झनाका गाँठाहरू पार्दैछ ।

मौसमी स्निग्धताको एकल उर्दी 
अब यो जगतमा खुशीहरु सलबलाउने छन् 
अमावस्याको कालो क्यानभासमा
सुनाखरी रङ पोतेर
जूनले पनि मुहार धोईपखाली गर्दैछ
आकाशले ताराका दीपहरू बालेर
धरतीले झिलिमिली बत्ती सजाउँदैछ
लाग्छ-
यो नै जीवनको सर्वोत्तम रङ्ग हो ।

माटाका दियाहरूको मधुरो उज्यालोमा
हरेक घरको आँगन
लक्ष्मीको स्वागतमा सिँगारिँदैछ
आँगनमा लक्ष्मीका पाइलाहरू खोज्दा
सेलरोटीको बास्नाले भान्सा सम्झाउँछ
मादलको ताल कानमा ठोक्किँदा
मनका पाइला आफैँ गाउँतिर मोडिन्छन् ।

टाढाबाट कागले बोकी ल्याएको शुभ सन्देश
कुकुरका आँखामा छल्किएको निःस्वार्थ प्रेम
गाईको निधारमा ममताको स्पर्श
गोवर्धनको माटोमा जीवनको दर्शन
कति गहिरो रहेछ तिहार,
कति आत्मीय रहेछन् यी संस्कार!

तर दूरीका पनि आफ्नै पर्खाल हुँदारहेछन्
मनले चाहेर पनि नाघ्न नसकिने
कस्तो अनौठो रहेछ परदेशको जिन्दगी
आफ्नै घरको खुसी तस्बिरमा हेरेर हाँस्नुपर्ने,
आफ्नै चाडपर्वलाई समयको अन्तरमा बाँडेर
आफ्नै मनलाई सम्झाउनुपर्ने ।

यता रात गहिरिँदै जाँदा
उता गाउँको आँगन उज्यालो हुन्छ,
देउसी–भैलोका स्वरहरू गुञ्जिँदा
यहाँ सम्झनाको दियो बलिरहन्छ
नोस्टाल्जियाले च्याप्प समातेको बेला 
मनले एकोहोरो हिक्का छोड्छ ।

तैपनि मखमली सुक्दैन मनमा
सयपत्री ओइलाउँदैन सम्झनामा
माटोको सुगन्ध हराउँदैन श्वासबाट
न त घर फर्किने रहर नै मेटिन्छ मनबाट
आफ्नोपनको झझल्को बोकेर
मनैले मनाउँछ एउटा आफ्नै तिहार ।

वर्षौंदेखि हरेक तिहारमा 
एउटै कामना गरिरहन्छु
मेरो घरको दीयो कहिल्यै ननिभोस्
आमाको आँगन सधैँ उज्यालो रहोस्
दाजुभाइको निधारमा
स्नेह र दीर्घायुको टीका रहोस्
तिनिहरु त्यहाँ छन् 
र त म यहाँ छु ।

मेरा माइतीको आँगनमा खुसीको फूल फुलिरहोस्,
सम्बन्धका यी उज्याला बत्तीहरू
जन्मौँजन्म बलिरहेको हेर्न पाउँ
दीपावली केवल पर्व मात्र होइन
यो त अँध्यारोसँग उज्यालोले गरेको विद्रोह हो
दूरीसँग सम्झनाले गरेको संवाद हो
र टाढा रहेर पनि
आफ्नोपन जोगाइराख्ने
मनको एउटा अनन्त उत्सव हो ।

यो सुदूर देशबाट 
संस्कृतिको झण्डा बोकेर
बाडुल्किले गला अबरुद्ध पार्दै
पठाउन चाहन्छु
तिनै गाउँका गल्छेँडाहरुमा 
मनबाट कहिल्यै नमेटिने
देउसी-भैलोको सुमधुर झन्कारसँगै
घरदेशी यादमा
परदेशी तिहार ।

laxmi recruitement

सम्बन्धित खबर