अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोक कला संस्कृतिमार्फत प्रदेशलाई विश्व सामु चिनाउन खोजिएको बताएका छन् ।
बुटवलमा प्रदेश स्तरीय ललितकला प्रदर्शनीको शुभारम्भ गर्दै उनले लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको बताए । मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति भएको बताउँदै उनले यस्ता प्रदर्शनीहरूले नेपाली ललितकला क्षेत्रको प्रवर्द्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्ने जिकिर गरे ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले साहित्यको संरक्षण तथा प्रवर्द्धन, भाषा विकास, संस्कृति र इतिहासको संरक्षण तथा कला प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । उनले विधेयक तर्जुमा प्रक्रिया अगाडि बढेकाले ऐन सबै पक्षलाई समेटेर तयार पारिने बताए । प्रदेश सरकार ललितकला लगायत सम्पूर्ण कलाक्षेत्रको समग्र विकासका लागि सकारात्मक रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा आशाको किरणका रूपमा ललितकलालाई लिनुपर्ने विचार व्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलेले बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका स्थानीय र ऐतिहासिक पहिचान झल्कने चित्रहरु सार्वजनिक स्थलमा आगामी दिनमा कोरिने बताए । १२३ जना कलाकारको १८० कलाकृति प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।