विराटनगर : कोशी क्रिकेट महोत्सव २०२५ विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेश क्रिकेट संघको प्रवर्द्धनमा नेपाल क्रिकेट फाउण्डेशनको आयोजना, एमसीसी फाउण्डेशन र क्रिकेट विथआउट बाउन्ड्रिजको समन्वय तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव विराटनगरमा सम्पन्न भएको हो ।
विराटनगर-६ स्थित मेरिलबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा आयोजित यस महोत्सवले विद्यालयस्तरीय क्रिकेटलाई प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने उद्देश्य राखेको थियो । नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठका अनुसार विद्यालय क्रिकेटलाई बलियो बनाउँदै बालिका खेलाडीहरूलाई समान अवसर दिनु र युवा खेलाडीहरूलाई पेशागत क्रिकेटतर्फ आकर्षित गर्नु यस प्रतियोगिताको प्रमुख लक्ष्य हो ।
प्रतियोगितामा विराटनगरका आदर्श बालिका, श्री आदर्श मावि, जनपथ मावि, श्री माध्यमिक मावि, विराट बहिरा मावि र सुशिक्षा निकुञ्ज गरी ६ सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए । महिला र पुरुष दुवैतर्फका खेल समावेश गरिएको प्रतियोगितामा हरेक खेल १० ओभरको खेलाइएको थियो ।
क्रिकेट विथआउट बाउन्ड्रिजका स्वयंसेवकहरूको सहयोगमा सम्पन्न प्रतियोगिता भुइँ तहबाट क्रिकेटको विकास र नयाँ प्रतिभाहरू पहिचान गर्न महत्वपूर्ण कदम सावित भएको आयोजकहरूले बताएका छन् ।