अर्घाखाँची : भूमिकास्थान नगरपालिकाले बाँझो जग्गालाई सदुपयोग गर्दै खेती गर्न थालेपछि यहाँका स्थानीयलाई गाउँमै रोजगारी सिर्जना भएको छ ।
अर्घाखाँचीका अधिकांश ठाउँहरुबाट बसाइँसराइको दर उल्लेख्य वृद्धि भएपछि अहिले गाउँघरमा रहेका मानिस बस्ने प्रायःघरहरु खाली छन्, मानिस बस्दैनन् । जेनतेन बुढाबुढीहरु गाउँमा बसे पनि यहाँका जग्गाजमिन बाँझै छन् । खेतीयोग्य जमिनहरुमा अहिले बनमाराको झाडि र काँडाका झाडिहरुले भरिएपछि त्यहाँ छिर्न सक्ने अवस्था समेत छैन । गाउँमा बस्ने कृषकहरु अहिले बजारको किनेर खान्छन् । खेतीबाली लगाउन छाडिसकेका छन् भने खेतीपाती गर्ने जनशक्तिको गाउँमा निकै ठूलो अभाव छ ।
खेतीयोग्य जमिन बर्सेनी बाँझै रहन सुरु गरेपछि भूमिकास्थान नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु विगत तीन वर्षदेखि आफैं खेतीपाती गर्न व्यस्त छन । धेरै मानिस पहाडी जिल्लाबाट कामको खोजीमा सहर केन्द्रित हुन थालेपछि धेरै बाँझिएको जग्गामा नगरपालिका आफैं खेतीपातीमा लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए ।
विगत तीन वर्षदेखि नगरपालिकाले स्थानीय कानुन बनाएरै नगरपालिकाको आम्दानीको श्रोत बढाउने उद्देश्यसहित खेतीपाती बीउ उत्पादनमा लागेको हो । नगरपालिकाको ‘कर्मशील जनशक्ति रोजगार कार्यक्रम’ मार्फत नगरभित्रका बाँझो जमिन विगत तीन वर्षदेखि उपयोग गरेर सुरु गरिएको बीउ उत्पादन कृषि खेती प्रभावकारी भएको नगर प्रमुख झविलाल थापाले जानकारी दिए ।
‘हामीले भूमिकास्थानलाई आत्मनिर्भर बनाउने बाटोमा लैजाँदै छौं । कार्यविधि बनाएर प्रक्रिया अघि बढाएका थियौं । अहिले निकै प्रभावकारी भएको छ ।’
पहिलो वर्ष ७२ किलो प्याजको ब्याड राखेर सुरु गरेको अभियान अहिले २ सय किलो प्याजका बिरुवा लगाइएको छ भने धानको बीउ मकैको बीउ सिजन अनुसारको तरकारीको बीउ नगरपालिकाले बाहिर बिक्री वितरण सुरु गरेको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर २, ५, ७ र ९ का विभिन्न ठाउँमा अहिले खेती छ ।
गत वर्ष सोचे अनुसार उत्पादन नभएको भएपनि यस वर्ष नगरपालिकाले लगाएको खेती लोभलाग्दो छ । नगरभित्रका खेतीयोग्य बाँझो जमिन आफैंले उपयोग गर्ने गरी कार्यविधि बनाएरै नगरले ३ वर्षदेखि लिजमा लिएको छ ।
भूमिकास्थानले भने आफैं कृषि खेती गर्न सुरु गरेपछि यहाँका स्थानीय खुसी छन् । पछिल्लो समय देशको अर्थतन्त्र खस्किरहँदा नगरले कृषि व्यवसायमा आकर्षण बढाउन र गाउँघरमै रोजगारको अवसर सिर्जना गर्न ‘कर्मशील जनशक्ति रोजगार आयआर्जन कार्यक्रम’मार्फत बाँझो जमिन सदुपयोग गर्ने नीतिलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए ।
नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ वर्ग किलोमिटर रहेको छ । जसमध्ये चार हजार पाँचसय ६४ हेक्टर जमिन खेतीयोग्य छ ।
अहिले प्याजका अलावा भूमिकास्थानका केही ठाउँमा रैथाने बाली गहत, कोदो, मकै पनि लगाइएको थियोे । अहिले काउली बन्दा वा काँक्रो, घिरौंला, लौका लगाउने योजना रहेको जनप्रतिनिधि बताउँछन् ।
नगरले प्रतिरोपनी वार्षिक एक हजार रूपैयाँ वा निःशुल्क जग्गा उपलब्ध गराउन सूचना आह्वान गर्ने गर्छ । धेरै ठाउमा जग्गाधनीले निःशुल्क जमिन उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । खेतीसँगै, घरेलु उद्योग र विकास निर्माणका काममा समेत कर्मशील जनशक्ति परिचालन गरिएको नगरपालिकाका योजना अधिकृत हरिशचन्द्र भुसालले बताए ।
नगरले कर्मशील जनशक्ति परिचालन गरेर मकैका पोस्करले झोला र टोपी उत्पादन बिक्रीवितरण सुरु गरेको छ । अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित नगरले पोस्करबाट बनाइने झोला र टोपी काठमाडौं पोखरा लगायत ठूला ठाउँमा निर्यात सुरु भएको छ ।