काठमाडौं : ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्रले आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
यससँगै मच्छिन्द्रले प्रतियोगितामा उपाधिको ह्याट्रिक गरेको छ । मच्छिन्द्रले पहिलो संस्करणमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो भने दोस्रो संस्करणमा भने न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै उपाधि जितेको थियो ।
मच्छिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे । मच्छिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो । खेलको २९औं मिनेटमा सनिसले गोल गरेका थिए । पेनाल्टी क्षेत्रबाहिर राइट साइडबाट सनिसले गरेको प्रहार आर्मीका रक्षक विमल पाण्डेबाट डिफ्लेक्ट हुँदै गोल भयो ।
७३औं मिनेटमा स्टेफन जमाह जलीले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । जलीले मलिक युसुफको क्रसमा गोल गरे ।
उपाधिसँगै मच्छिन्द्रले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ हात पार्यो । उपविजेता आर्मीले पाँच लाख रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलअन्तरले र सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४–० गोलअन्तरले पराजित गरेको थियो ।
आर्मीले यो प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले र सेमिफाइनलमा संकटालाई २–१ गोलअन्तरले हराएको थियो ।
विश्वकप विजेता इटालीका पूर्वकप्तान एवं गोलकिपर जियानलुइजी बुफोनले दशरथ रंगशालामा उपस्थित भएर फाइनल खेल हेरेका थिए ।