अर्घाखाँची : भूमिकास्थान नगरपालिका वडा नम्बर ३ रातामाटामा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयले विद्यार्थीलाई दुना– टपरी बनाउने तालिम दिएको छ ।
पढाइसँगै परम्परागत सीप तथा दुना–टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले कक्षा १ देखि १० कक्षासम्म अध्ययरत छात्रछात्राहरुलाई दुना–टपरी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सुभाषचन्द्र बन्जाडेले जानकारी दिए ।
सालको पातबाट बनाइने दुना–टपरी पछिल्ला दिनमा गाउँघरमा समेत लोप हुँदै छ । यसको संरक्षणको लागि तालिमको आयोजन गरिएको प्रधानाध्यापक बन्जाडेको भनाइ छ ।
उनले भने,‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित हामीले छात्राहरुलाई दुना– टपरी बनाउने जीवन उपयोगी परम्परागत सीप प्रदान गरेका हौं । प्रत्येक सातामा हामीले विद्यार्थीलाई नयाँ व्यवहारिक ज्ञान दिने गरी सीप सिकाउँछौं ।’
कक्षा १ देखि १० सम्म अध्ययनरत २ सय ४५ जना विद्यार्थीलाई उक्त तालिम दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भुसालले बताए ।
तालिममा शिक्षिका गोमा बन्जाडे, गोमा खड्का, सुनिता भुसाल, सीता बन्जाडेले सहजीकरण गरेको शिक्षक लेखनाथ बन्जाडेले जानकारी दिए ।
दुना–टपरी बनाउने सीप सिकेपछि विद्यार्थीहरु समेत खुसी भएका विद्यालयका सूचना अधिकारी भेषराज भुसालले बताए ।
विद्यालयले अतिरिक्त सीपहरु सिकाउँदा आफुहरुको पढाइ र व्यवहारिक ज्ञानमा समेत सकारात्मक प्रभाव परेको कक्षा १० मा अध्यानरत छात्रा शोभा खड्काले बताइन् ।