२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पशु सेवा कार्यालयद्वारा सञ्चालित अनुदानका कार्यक्रमको अनुगमन

ADV
पुर्ण कुमार
२०८१ असार १६ गते २१:४५
पशु सेवा कार्यालयद्वारा सञ्चालित अनुदानका कार्यक्रमको अनुगमन

डोल्पा : पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाद्वारा उपल्लो डोल्पामा सञ्चालित कार्यक्रमहरुको सरोकारवालाहरुको सहभागितामा स्थलगत अनुगमन गरिएको छ । कार्यालयले उपल्लो डोल्पाको डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकाभित्र सञ्चालित अनुदानका कार्यक्रमको अनुगमन सम्पन्न गरेको हो । 

कार्यक्रमको प्रभावकारिता एवम् पारदर्शिता बढाउन र आर्थिक अनियमितता हटाउने उद्देश्यले जिल्लास्थित सरोकारवालाको सहभागितामा मूल्यांकन, अनुगमन तथा अवलोकन गरिएको पशु सेवा कार्यालय डोल्पाका प्रमुख जरबहादुर भक्रीले बताए ।

पशु सेवा कार्यालयमार्फत डोल्पोबुद्ध गाउँपालिकाको १, २ नं वडा र शे–फोक्सुण्डो गाउँपालिका–२ कराङस्थित ठाउँमा सञ्चालित च्यांग्रा उत्पादन कार्यक्रमको अनुगमन गरिएको छ ।

कार्यालय प्रमुख भक्रीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को कार्यालयको अनुदान ७० प्रतिशत अर्थात १६ लाख ५० हजार र ३० प्रतिशत अर्थात ४ लाख ९५ हजार अनुदान ग्राहिताको सहभागितामा कूल २१ लाख ४५ हजारमा च्यांग्रा उत्पादन कार्यक्रमअन्तर्गत शे– फोक्सुण्डो गाउँपालिकाको वडा नं २ कराङस्थित काराङ ग्याङजोङ च्यांग्रा उत्पादन समूह, डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ३ ताक्सीस्थित ताक्यु च्यांग्रा पालन समूह र डोल्पोबुद्ध वडा नं १ स्थित धो च्यांग्रा पालन समूहको मूल्यांकन, अनुगमन तथा अवलोकन गरिएको हो ।

कार्यालयका प्रमुख भक्रीका अनुसार कृषकलक्षित कार्यक्रममा कार्यालयबाट प्रदान गरिएको अनुदान सम्बन्धित कृषकले सही सदुपयोग गरेका छन् कि छैनन् भन्ने जानकारी लिन र यदि काम नभइ अनियमितता भएको पाइएमा कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर अनुगमनलाई कडारुपमा अगाडि बढाइएको हो ।

काम सम्पन्न भएको जानकारी सम्बन्धित कृषक समूहद्वारा जानकारीपछि प्राविधिक अवलोकनपश्चात सरोकारवालाहरुको सहभागितामा स्थलगत अनुगमन गराइ अनुगमनको स्थलगत प्रतिवेदन र सम्बन्धित पशु प्राविधिकको प्रतिवेदन तथा सम्झौता अनुरुप कामको मूल्यांकनको आधारमा मात्र भुक्तानी गर्ने गरिएको पशु सेवा कार्यालय डोल्पाका प्रमुख भक्रीले बताए ।

सम्झौताअनुसार प्रत्येक कृषक समूहले ८० वटा च्यांग्रा र ४ वटा बोका च्यांग्रा खरिद गरेका छन् ।  सबै कृषक समूहले छार्कादेखि एउटा च्यांग्राको न्यूनतम मूल्य २० हजारका दरले खरिद गरेका छन् भने बोका च्यांग्राको ४७ हजारको दरले खरिद गरेको पाइएको छ । 

अनुगमनमा कार्यालय प्रमुख भक्रीसहित किसान महासंघ जिल्ला इन्चार्ज राम बहादुर बुढा, कृषि कार्यालयका प्राविधिक, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहित सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise