अर्घाखाँची : अर्घाखाँचीमा ४ जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थितिमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिका वडा नम्बर २ मा भएको बैठकमा पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक भएको हो ।
फागुन २७ र २८ गते हुने पाणिनी पर्यटन सम्मेलनलाई लक्षित गरेर अन्तरजिल्ला सुरक्षा समन्वय बैठक गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
बैठकले शान्ति सुरक्षा, पाणिनी पर्यटन सम्मेलन लगायतका विषयमा महत्वपूर्ण निर्णयहरु गरेको प्रजिअ अर्यालले बताए ।
उनका अनुसार पर्यटन सम्मेलन २०८१ को सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन एक अर्का जिल्लाबीचको असल अभ्यास, नियमितरूपमा आदान प्रदान गर्ने, सुरक्षासम्बन्धी आवश्यक सूचना दोहोरो सञ्चार समन्वय नियमित गर्ने बैठकले निर्णय गरेको अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान जिल्लाका सुरक्षा समितिका प्रमुख तथा पदाधिकारीहरु सहभागी रहेको अन्तरजिल्ला सुरक्षा समन्वय बैठकले एकापसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
४ जिल्लाका साझा सुरक्षा, चुनौतीहरु पहिचान गरी विभिन्न समूह तथा व्यक्तिहरुबाट हुन सक्ने फौजदारी अपराध, लागुऔषध, मानव बेचविखन, वन्यजन्तु सिकार, हातहतियार ओसारपसार, सामाजिक अपराध लगायत आपराधिक तथा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न सीमा जोडिएका क्षेत्रमा एकआपसमा साझेदारी गरी प्रभावकारी रुपमा शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण लगायतमा समन्वय गरेर अगाडि बढ्ने निर्णय गरिएको छ । बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा समन्वयात्मक प्रयासको आवश्यकता औंल्याएका थिए ।
बैठकले ४ जिल्लाबीचको सहकार्यलाई सुदृढ गर्दै सुरक्षाको क्षेत्रमा दीर्घकालीन सुधारको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ ।
बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदानप्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालका बारेमा ब्यापक छलफल भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी जर्नादन शर्माले बताए ।