काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेकोले अब राजतन्त्र नफर्किने दाबी गरेका छन् । शुक्रबार जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वरमा एभोकार्डाे र अम्वाकाबिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको लागि विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्न उनले सुझाव दिए ।
अर्को प्रसंगमा अध्यक्ष नेपालले भूमाफियासँग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए । आफूले ल्याएको अध्यादेश फेल वा निष्क्रिय भए सरकारलाई नैतिक संकटपर्ने उनको भनाइ छ ।
अध्यक्ष नेपालले दलसम्बन्धी कानुन ल्याएर दल फुटाउने षड्यन्त्रकारीहरूको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गरे ।
रौतहटबाट पहिलो पटक अभियानका रूपमा सुरुवात गरिएको ‘जन्म दिनलाई सत्कर्ममा जोडौं’ अभियानका अभियन्ता पत्रकार गोविन्द चौलागाइ लगायतले नेतृत्व गरेको वृक्षारोपण अभियानलाई ऐक्यबद्धता जनाउँदै अध्यक्ष नेपालले फलको बिरुवा रोपेका हन् । कार्यक्रममा संचारकर्मी,अभियन्ता लगायत नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।