चार वर्ष अगाडि उपभोक्ताले दैनिक १७ घण्टासम्म लोडसेडिङको मार खेपिरहँदा नेपाल विद्युत प्राधिकरण चरम घाटामा चलिरहेको थियो । जब प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भए, तब लोडसेडिङको अँध्यारो युगको अन्त्य भयो । धेरैले यसलाई कुलमानको व्यक्तिगत सामथ्र्यका कारण संभव भएको ठान्छन् भने केहीलाई यो संयोग मात्रै लाग्ने गरेको छ । विशेषगरी सत्ताको नेतृत्व गरिरहेको दलका केही नेता र स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्राधिकरणमा कुलमानको नियुक्ति संयोग मात्रै लागिरहेको छ । यदि, प्रधानमन्त्री ओलीलाई प्राधिकरणमा कुलमानले चमत्कार गरेको अनुभूति मात्रै भएको थियो भने अहिले राजधानी उपत्यकाका सडकमा प्रदर्शन हुने थिएन ।
तर, सरकारको नेतृत्व गरिरहेका नेताहरुलाई कुलमानको सामथ्र्य भन्दा पनि राज्य संरचनाकै कारण लोडसेडिङ अन्त्य भएको बुझाइले काम गरेको छ । त्यसैले नै कुलमानलाई प्राधिकरणमा निरन्तरता दिइनुपर्ने मागसहित राजधानी उपत्यकामा बुधबार पनि प्रदर्शन भएको छ । प्रहरीले रोक्न खोजेपनि प्रदर्शनले निरन्तरता पाइरहेकै छ । सरकारको नेतृत्व गरिरहेका नेताहरु कुलमानप्रति अनुदार हुनुको पछाडि भने भागबण्डाको राजनीतिले धेरै अर्थसम्म बल पुर्याएको बुझ्न गाह्रो पर्दैन । किनभने, ओली सरकारले नभएर तत्कालीन माओवादी सरकारले कुलमानलाई नियुक्त गरेको थियो, जुन सरकारप्रति ओली सरकारले अपनत्व लिन सकेको छैन ।
अर्थात्, मुलुकको हितमा भन्दा पनि नेताहरुको व्यक्तिगत लेनदेनको आधारमा संवैधानिक नियुक्ति हुने मनोवृत्तिको प्रमुख उदाहरणका रुपमा कुलमान देखिएका छन् । अझ भनौं, संवैधानिक निकायको नियुक्तिमा भागबण्डाले काम गरिरहेकै कारण दर्जन बढी संवैधानिक आयोगहरु रिक्त छन् । विपक्षी दलले पनि आफ्नो भाग माग्ने, नेता पिच्छे स्वार्थ हाबी हुने र प्रधानमन्त्रीले चाहेर मात्रै पनि निर्णय हुन नसक्नुले परिस्थितिकै कारण आयोगहरु लामो समय रिक्त हुने गरेको छ । नेपाल विद्युत प्राधिकरण पनि प्रधानमन्त्री सहित शक्ति केन्द्रको स्वार्थ मिल्न नसक्दा नै फेरि काम चलाउ नेतृत्वमा जाने संभावना छ । कतिसम्म भने शान्ति सम्झौता भएको १२ वर्ष नाघिसक्दा पनि शान्ति प्रक्रिया टुंगिन सकेको छैन । घाइते, बेपत्ता र मृतकका परिवारले न्याय पाउन सकेका छैनन् । यी सबैको कारण संवैधानिक निकायमा आफ्नो मानिस लैजाने चाहना हुने र त्यसका लागि गरिने भागबण्डा नै प्रमुख हुन् । भागबण्डाको मनोवृत्ति नरोकिएकैले राम्रो मानिसले ठाउँ पाउन सकेका छैनन् भने मुलुकले गति लिन समेत सकेको छैन । जसको अन्त्य नेपालको संविधानको भावना समेत हो । सही व्यक्ति, सही ठाउँमा पुग्दाको परिणाम नेपाल विद्युत प्राधिकरण पनि हो । भलै, यो तथ्यमा सर्वसहमति छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies