२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

नातावाद विरोधी पुरुषोत्तम

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक १५ गते ०६:५५
Shares
नातावाद विरोधी पुरुषोत्तम

केही समयदेखि भ्रष्टाचारविरुद्ध बोल्दै आएका पुरुषोत्तम यादव (२७ वर्ष) जेनजी आन्दोलनका सुरुवातकर्ता हुन् । सर्लाहीको एक मध्यम परिवारमा जन्मिएका यादव आमसञ्चार तथा पत्रकारितामा बिए गरेका छन् । एमबीए अध्ययनरत उनी विगत तीन वर्षदेखि सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएको दाबी गर्छन् । 

इन्डोनेसियामा नातावादविरुद्धको अभियानसम्बन्धी सामग्री सामाजिक सञ्जालमा आएपछि आफूले पनि नेपालको सोही प्रकृतिको भिडिओ हालेपछि सो भिडियो भाइरल भएको उनको भनाइ छ । त्यसपछि अरू भिडिओ पनि निरन्तर हाल्दै जाँदा प्रभावशाली व्यक्ति पनि बोल्न थाले र एकाएक आन्दोलनको माहोल बनेको उनको अनुभव छ । यादवले आन्दोलनभन्दा पहिला नै पूर्वडिआइजी रमेश खरेल, महाबीर पुनलगायतलाई भेटेर भ्रष्टाचारविरुद्धको गैरराजनीतिक आन्दोलनको अगुवाइ गर्न आग्रह गरे पनि उनको आग्रहलाई सबैले अस्वीकार गरेका तथ्यलाई समेत स्मरण गर्दै आएका छन् ।  

‘८ सेप्टेम्बरमा हामीले प्रदर्शनका लागि आह्वानसहित भिडिओ हालेका थियौं । प्रशासनबाट अनुमति पनि लियौं,’ उनले भने, ‘यो आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध थिएन । हाम्रो अभियान सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनुअघिदेखि नै थियो । जुन भ्रष्टाचारविरोधी, नातावाद विरोधी र दलीयकरणविरोधी थियो ।’  

मुलुकमा मौलाएको भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण आन्दोलनमार्फत शासकहरूको ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आन्दोलनको अनुमति लिए । २२ गते प्रशासनबाट अनुमति लिँदा कति जना सहभागी हुन्छन् भन्ने सहायक प्रमुख जिल्ला अधिकारीको प्रश्नमा २ सय देखि ३ सय जना हुन्छन् भनेर उनले जवाफ दिएका थिए । ‘हामीले ३ दिनअघि सामाजिक सञ्जालमा आन्दोलनको घोषणा गरेका थियौं । हामीलाई लागेको थियो, २ देखि ३ सयसम्म आउलान्,’ उनले भनेका छन् ।

तर परिस्थिति फरक भयो । यादवसहितका जेनजी अगुवाले २३ गते आन्दोलन गर्ने घोषणा ३ दिनअघि सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए । आन्दोलनको अग्रभागमा देखिएका यादव अहिले पनि विभिन्न छलफल र योजना निर्माणमा सक्रिय छन् । लोकतन्त्रमा राजनीतिक दल आवश्यक भए पनि दलीयकरण, भ्रष्टाचार, नातावादको अन्त्य आवश्यक ठानेका छन् ।  राजनीतिक दलमा भ्रष्टाचारी नेतालाई कारबाही गरी सच्चिएर आउन र आगामी प्रतिनिधि सभाको निर्वाचनमा सबै दलले भाग लिनुपर्ने यादवको धारणा छ । सुशासनसहित देशमै रोजगारीका अवसर ल्याउन आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्नेछ । वर्तमान सरकारमार्फत आन्दोलनका उपलब्धि केही दिनमै संस्थागत हुने र तोकिएकै मितिमा चुनाव हुनेमा यादव विश्वस्त छन् । आगामी निर्वाचन हुनुपर्ने तर सो निर्वाचनमा जेनजी के कसरी जाने भन्ने छलफलमै रहेको उनले बताएका छन् । ‘भ्रष्टाचारविरुद्धको आन्दोलनको अगुवाइ गर्न धेरैलाई आग्रह गरेको थिएँ । उहाँहरूले पत्याउनुभएन तर अब यो परिवर्तनलाई जोगाउन र भ्रष्टाचारमुक्त समाज बनाउन हरेक युवाले जिम्मेवारी लिनुपर्छ । म पनि त्यसैमा लाग्नेछु,’ उनले भने ।

 

सम्बन्धित समाचार 

सेनाको नियत पर्दाफास गर्ने रक्षा बम 

डिजिटल आन्दोलनका सूत्रधार सुदन

प्रत्यक्ष कार्यकारीका पक्षपाती मिराज

नातावाद विरोधी पुरुषोत्तम

वाककलाले चर्चित प्रवेश

फिल्डका कमान्डर खेमराज

पहिलो जेनजी मन्त्री बब्लु

जो आन्दोलनबाट उठे

सम्बन्धित खबर